संरक्षण नहुँदा ‘लाम पोखरी’को अस्तित्व गुम्ने खतरा



सङ्खुवासभा, भदौ २८ गते । सिलिचोङ गाउँपालिका ४ माङ्तेवामा रहेको ऐतिहासिक लाम पोखरीको संरक्षण नहुँदा अस्तित्व गुम्ने खतरा बढेको छ । परापुर्व कालमा अलौकिक शक्ति समेत रहेको भनिएको पोखरीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको हो ।

करिव दशक अघिसम्म टम्म भरिएको पोखरी पछिल्लो समय पानीको सतह घट्दै गएको छ । पोखरीको दक्षिण दिशा तर्फको जमिनको भाग खिईदै गएकोले पनि पोखरीमा पानी कम हुदै गएको हो । पोखरी वरिपरि ब्यक्तिगत स्वमित्वको जमिन भएकोले बन फडानी हुने गरेको छ । पानीको सतह घट्नुको अर्को मुख्य कारण जंगल फडानी पनि हो । पहिले घना जंगल भित्र रहेको पोखरी अहिले खुल्ला पाखामा सुक्दो अवस्थामा छ ।

अघिल्लो पुस्तासम्म ठुलो क्षेत्रफलमा रहेको पोखरीको नजिक कोही जान नसकेको जानकारहरु बताउछन् । जंगल भित्र रहेको पोखरी नजिक कोही गए अनौठो आवाज आउने, मेघ गर्जने र पोखरीबाट अनौठो बस्तु देखा पर्ने गरेको ९० बर्ष उमेर पुगेको स्थानीय हिकमतसिं राईले बताउनुभयो । राईले भन्नुभयो, ‘हामी केटाकेटी हुँदा कोही जानु हुँदैन भन्थे, त्यहाँ कोही पुगे बिरामी परेर मृत्यू हुन्थ्यो ।’ त्यो बेला पोखरी नजिक पुगेकै कारण गाउँका एक जनाको मृत्यू भएको उहाँको भनाई छ । उक्त पोखरीमा दैवी शक्ति वा कुनै अलौकिक शक्ति रहेको विश्वास गरिन्थ्यो । सोही शक्ति भएको मान्यताका कारण धामी झाक्रीहरुले पनि टाढैबाट उक्त पोखरीको दर्शन गर्ने गरेको बताईन्छ ।

तर पछि विस्तारै पोखरी शक्ति विहन बन्दै गएपछि पोखरी वरिपरिको जंगल विनास हुँदै गएको अर्का स्थानीय गौमान तामाङ बताउनुहुन्छ । यसरी पौराणीक महत्व बोकेको पोखरीको अहिले संरक्षण नहुँदा भोली आहालमा परिणत हुने सम्भावना रहेको स्थानीय नागरिकहरु बताउछन् । पोखरीको संरक्षण गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयको राम्रो आयश्रोत बन्न सक्ने स्थानीय मोतिबहादुर कुलुङको भनाई छ । पोखरीको पानी संरक्षण गरि अन्यत्रबाट थप पानी मिसाए पोखरीको आकार बढाएर आकर्षक बनाउन सकिने समेत कुलुङले बताउनुभयो ।

यस विषयमा सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङसँग कुरा गर्दा गाउँपालिकाको यस्ता पौराणीक र पुरातात्वीक महत्वको स्थलहरुलाई संरक्षण गर्ने योजना रहेको जानकारी दिनुभयो । लामपोखरीलाई पर्यटनसँग पनि जोडिएकोले अहिले निर्माणको क्रममा रहेको पर्यटन गुरु योजनामा समेटिएको उहाँको भनाई छ । अहिले लामपोखरी रहेको भुभाग ब्यक्तिगत की सरकारी भन्ने स्पष्ट नभएकोले पनि तत्काल काम गरिहाल्ने स्थीती नरहेको प्रमुख कुलुङको भनाई छ । लामपोखरीलाई सुर्के डाँडा हुँदै नागिटारको पद मार्गमा जोड्ने प्रारम्भीक योजना रहेको समेत उहाँले बताउनुभयो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार