असार सकिदा सङ्खुवासभामा ४० प्रतिशत रोपाई




सङ्खुवासभा। असार सकिदा सङ्खुवासभामा ४० प्रतिशत रोपाई सकिएको छ । कृषी ज्ञान केन्द्र सङ्खुवासभाको मंगलबारको तथ्याङ्क अनुसार असार मसान्तसम्म उक्त मात्रामा रोपाई सम्पन्न भएको हो ।

जिल्लामा यस बर्ष अघिल्लो बर्षभन्दा रोपाई ढिलो भएको हो । असार सकिदा अघिल्लो बर्ष ५५ प्रतिशत रोपाई सकिएको थियो । जिल्लाको माथिल्लो क्षेत्रमा ८० प्रतिशत रोपाई सकिएको भए पनि तल्लो (बेंशी) क्षेत्रको कतिपय स्थानमा सुरु नै नगरिएको छैन । तल्लो क्षेत्रमा अधिकांस कृषकहरुले ढिलै रोपाई गर्ने भएकोले समग्रमा ६० प्रतिशत रोपाई बाँकी देखिएको कृषी ज्ञान केन्द्र सङ्खुवासभाका प्रमुख छत्र विश्वकर्माले जानकारी दिनुभयो । हेलुवा बेंशी, चेवा बेंशी, तल्लो धुपु, तुम्लिङटार, कत्लेभञ्ज्याङ, गिद्दे लगायतका क्षेत्रमा रोपाई हुन बाँकी रहेको विश्वकर्माको भनाई छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा भने असारमा नै रोपाई सकिने गरेको भएपनि ढिलो गरि पानी परेकोले थोरै ढिलो भएको कृषी ज्ञानकेन्द्रले जनाएको छ । बेलैमा पर्याप्त पानी नपर्दा मुल नफुटेकोले त्यस क्षेत्रमा रोपाई केहि ढिलो भएपनि हप्ता दिन भित्र सकिने ज्ञान केन्द्रका प्रमुख विश्वकर्माको भनाई छ । ‘पछिल्लो समय पानी परेकोले मुल पनि फुटेको छ, अव केहि दिन भित्र नै उचाई क्षेत्रमा रोपाई सकिन्छ’, विश्वकर्माले भन्नुभयो । अव धमाधम रोपाई गर्ने भएकोले बढीमा १५ दिन भित्र जिल्लामा सवै रोपाई सकिने समेत उहाँले जानकारी दिनुभयो ।

सङ्खुवासभामा आधा भन्दा बढी रोपाई आकाशे पानीको भरमा गरिन्छ । जिल्लामा ३० हजार हेक्टर क्षेत्रफलमा धान रोपिने गरेको मध्ये १५ हजार चार सय ३६ हेक्टरमा आकाशे पानीको भरमा रोपाई गरिन्छ । ९ हजार ३ सय २२ हेक्टर बर्षातको समयमा मात्र सिंचित हुन्छ भने ५ हजार २ सय ४२ हेक्टर बर्षै भरि सिचिंत हुन्छ ।

सम्बन्धित समाचार