सङ्खुवासभाः प्रत्येक खोलामा विद्युत सर्भे, उत्पादन भने सुस्त



जिल्लाको एक विद्युत आयोजनाको सिलान्यास गर्नुहुँदै प्रदेश १ का मुख्यमन्त्री सेरधन राई ।

सङ्खुवासभा, भदौ १३ गते । विद्युत उत्पादनको हिसावले उर्बर मानिएको सङ्खुवासभामा प्रत्येक जसो खोलाबाट विद्युत निकाल्न सकिने अवस्था छ । तर उत्पादनको काम भने निक्कै सुस्त छ ।

सङ्खुवासभामा सर्वे भएको विद्युत उत्पादन क्षमता मात्र ३ हजार मेगावाट भन्दा बढी छ । यस बाहेक सर्वे हुन बाँकी थुप्रै खोलाहरुबाट पनि विद्युत निकाल्न सकिने सम्भावनाहरु छन् । यद्धपी अहिलेसम्म भने तीन वटा साना खोलाहरुबाट मात्र विद्युत उत्पादन भईरहेको छ । वि.सं. २०५७ सालमा पहिलो पटक पिलुवा खोलाबाट विद्युत उत्पादनको काम भए यता जिल्लामा साना खोलाहरु हेवाँ र सभाखोलाबाट मात्र विद्युत उत्पादन गर्ने काम भएको छ ।

जिल्लामा पहिलो पटक विद्युत उत्पादन गरिएको पिलुवा खोलाबाट तीन मेगावाट, हेवाँ खोलाबाट चार दशमलव पाँच मेगावाट र सभाखोलाबाट तीन दशमलब तीन मेगावाट मात्र विद्युत उत्पादन भईरहेको छ । पहिलो पटक विद्युत निकालिएको बर्षदेखि अहिलेसम्म करिव दुई दशक वित्दा झण्डै दश मेगावाट मात्र विद्युत उत्पादन भएको छ । यो तथ्याङ्कलाई हेर्दा जिल्लामा विद्युत उत्पादनको काम निक्कै सुस्त अवस्था छ ।

हाल निर्माणको काम भईरहेको आयोजनाहरुको पनि कामले गति लिएको छैन । निर्माणको जिम्मा लिएका केहि कम्पनीहरुले निर्माण कार्य सुरु गरेपनि अधिकांस सानातिना विषयहरुमा नै अल्झिरकेका छन् । बढिजसो कम्पनीहरु मुआब्जा वितरणको काममा नै अल्झिरहेका छन् । केही कम्पनीहरुले स्थानीय नागरिकहरुको मागलाई ध्यान नदिदा विभिन्न समस्याहरुमा अल्झिरहेका छन् ।

यसरी लगातार बगिरहने नदिहरुबाट विद्युत उत्पादन हुन नसक्नु जिल्लाको मात्र नभएर देशकै दुर्भाग्य भएको स्थानीयको भनाई छ । बेलैमा विद्युतमा लगानी नगर्दा जलश्रोत खेर गईसकेकोले अब त्यस्तो काममा ढिलाई गर्न नहुने स्थानीय नै बताउछन् । दिर्घकालिन असर नदेख्दा तत्कालिन अरुण तेश्रो लगायतका केही आयोजना बन्न नदिनुले देश निक्कै पछि परेको मकालु गाउँपालिकाका नवराज कार्कीको भनाई छ । ‘त्यो बेला त काम भएन भएन, अब पनि ढिलो गर्यौं भने झन पछि पर्छौ’, कार्कीले भन्नुभयो । विद्युत विकासको लागि सरकारले पनि द्रुत गतिमा काम गर्नु पर्ने र स्थानीयले पनि अवरोध गर्न नहुने स्थानीय नागरिकहरुको भनाई छ ।

यस अघिसम्म विद्युतको ट्रान्समिसन लाईन र सडक पहुँच नहुन विद्युत विकासको बाधक रहेको जिल्लाको विद्युत विकास विज्ञ हरि बैरागी दाहाल बताउनुहुन्छ । विद्युत उत्पादनको लागि सडक पहुँच अनिवार्य हुने तर जिल्ला प्रवेश मार्ग नै कमजोर रहेकोले विद्युत उत्पादनमा चासो नबढेको उहाँले बताउनुभयो । उत्पादित विद्युतलाई बजारसम्म पुराउन ट्रान्समिटर लाईन नभएकोले पनि उत्पादन कम भएको उहाँको भनाई छ । त्यस्तै, जिल्लामा विद्युत उत्पादनको लागि राज्यले चासो नदिनु र राजनितिक पार्टीको कमजोर भुमिकाको कारण पनि विद्युत उत्पादन हुन नसकेको दाहालले बताउनुभयो । तर अब सडक पहुँच र ट्रान्समिसन लाईनको सुविधा भएकोले विद्युत उत्पादनमा ढिलाई गर्न नहुने उहाँको भनाई छ । तर, विद्युत उत्पादन सँगै बजारको ब्यवस्थापनमा ध्यान दिनु पर्ने उहाँको जोड छ । यसको लागि सरकारले उपयुक्त बजारको ब्यवस्थापन गर्नु पर्ने दाहालले बताउनुभयो ।

हाल जिल्लामा नौ सय ९६ दशमलब ६१ मेगावाटको नौ वटा आयोजनाहरु निर्माणको क्रममा छन् । त्यस मध्ये अरुण तेश्रो सवै भन्दा ठुलो आयोजना हो । अन्य आठ आयोजनाहरु भने साना क्षमताको रहेका छन् । यस बाहेक ११ खोलाहरुबाट एक हजार २१ मेगावाट क्षमताको विद्युत उत्पादनको लागि लाईसेन्स विभिन्न कम्पनीहरुलाई दिईसकिएको विद्युत विकास विभागले जनाएको छ । जिल्लाको अन्य १८ खोलाहरुबाट ९ सय ४५ मेगावाट क्षमताको सर्वे भईसकेको विभागको तथ्याङ्कमा छ । अन्य खोलाहरुबाट पनि प्रसस्त विद्युत निकाल्न सकिने सम्भावना रहेको जानकारहरु बताउछन् ।

सवै खोलाहरुको अध्ययन गर्ने हो भने करिव पाँच हजार मेगावाट क्षमताका विद्युत सङ्खुवासभामा मात्रै उत्पादन गर्ने सम्भावना रहेको सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतमको दावी छ । सवै खोलाबाट तत्काल विद्युत निकाल्ने सम्भावना नरहेपनि अध्ययन भने सबैको गरिने योजना रहेको उहाँको भनाई छ ।

Watch Makalu Online TV

सम्बन्धित समाचार