कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गर्यो



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ ।शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा. डा. रमेशसिंह भण्डारीको टोलीले करिब ८ घन्टा लगाएर सो प्रत्यारोपण गरेको थियो ।प्रा. डा. भण्डारीकाअनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रोपटक सफलतापूर्वक सम्पन्न भएको हो ।

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो ।पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् ।‘हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौं । महिनामा कम्तीमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौं’–उनले भने ।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ ।प्रा.डा. भण्डारीकाअनुसार करिब रु २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिनेछ ।आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजो दान गर्नसक्ने कानुनी प्रावधान छ ।

सम्बन्धित समाचार