छायांकनमा निस्कियो ‘आँधी तुफान २’


११ श्रावण २०७८, सोमबार


 

गत वर्ष कोरोना महामारीका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । लकडाउन अन्त्यपछि भने थुप्रै फिल्म निर्माण भए । केही नयाँ फिल्म प्रदर्शनमा पनि आए । तर, कोरोनाले थिलथिलो भएको फिल्म क्षेत्र जुर्मुराउन नपाउँदै फेरि कोरोनाको दोस्रो महामारीले थला परेको छ । विगत तीन महिनादेखि फिल्म निर्माण र प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड हुने विभिन्न क्षेत्र खुलेका छन् । तर, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन सरकारले कुनै चासो देखाएको छैन । अब निर्माताहरु सरकारको निर्णय बेवास्था गर्दै निषेधाज्ञाका कारण अधुरैमा रोकिएको फिल्मको छायांकन सुरु गर्न कस्सिएका छन् । केही निर्माताले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु पनि गरिसकेका छन् ।

निषेधाज्ञाभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, संक्रमण बढेको भन्दै काठमाडौंमा निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन रोकियो । निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट फिल्मको छायांकन सुरु भएको छ । आइतवार काठमाडौंको एक स्टूडियोमा इन्डोर छायांकन गरिएको फिल्मको सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको छ ।

फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेको जानकारी दिए । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि छायांकन सुरु गरिएको उनको भनाई छ । भदौ पहिलो साताभित्र फिल्मको छायांकन सक्ने योजनामा निर्माण टिम छ । मदन घिमिरेले फिल्मको निर्देशन गरिरहेका छन् ।

फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्नेछ ।

सम्बन्धित समाचार