तनहुँ । तनहुँको भिमाद नगरपालिका–८ भागरका सुदिपराज अर्याल इलेकट्रोनिक्स इन्जिनियरीङ्गका विद्यार्थी हुन् । पश्चिमाञ्चल ईन्जिनियरीङ्ग कलेज पोखरामा स्नातक तहमा अध्ययनरत उनले फेसबुकको त्रुटि पत्ता लगाएर आम्दानी गर्न थालेका छन् ।
सामाजिक सञ्जाल अन्तर्गत सर्वाधिकको रोजाइमा रहेको फेसबुकमा देखिने समस्या पहिचान गरी रिपोर्ट गरेबापत अर्यालले मनग्यै आम्दानी लिन सफल भएका छन् ।
लकडाउनको समयमा फेसबुक लगायतका एप्लिकेशनका समस्या पहिचान गर्न थालेका उनले एक वर्षको अवधिमा ९ लाख रुपैयाँ बढी कमाएको जानकारी दिए । अर्यालले फेसबुक लगायतका एप्लिकेशनमा प्रयोगकर्ताको गोपनीयता भङ्ग हुने विभिन्न समस्याहरू पहिचान गरेका थिए ।
गत वर्षदेखि भएको लकडाउनको अवधिमा फेसबुकमा देखिएका १२ समस्या पहिचान गरी ९ हजार अमेरिकी डलर पाएको उनले बताए । फुर्सदको समय सदुपयोग गरी समस्या पहिचान गर्दा आम्दानी हुन थालेपछि यसप्रति आकर्षण बढेको उनी बताउँछन् ।
प्रविधि सम्बन्धी जानकारका लागी आम्दानीको राम्रो विकल्प भएको उनको ठम्याई छ । उनले ह्याकर वान लगायतका साइटमा हुने एप्लिकेशनको समस्या पहिचानका लागी विज्ञहरूसँग सहयोग समेत मागिने भएकाले प्राविधिक ज्ञान हुनेलाई यसप्रति चासो व्यक्त गर्न सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया