काँग्रेस वडा अधिवेशन भदौ १० मा


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १६ मा नहुने भएको छ । बूढानीलकण्ठमा विहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले आगामी भदौ १६–१९ मा महाधिवेशन गर्न नसकिने अनौपचारिक हिसाब –किताब निकालेको छ ।

साउन ८ गतेयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुरको निजी देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो । पार्टीका शीर्ष नेता, क्रियाशील छानविन समिति र निर्वाचन समितिका सदस्यबीच भएको बैठकले भदौमा वडा अधिवेशन मात्र गर्ने सकिने हिसाब निकालेको छ ।

विहीबारको बैठकपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यको अन्तिम सूची बनेर निर्वाचन समितिलाई दिएको कम्तिमा १५ दिनपछि वडा अधिवेशन सुरु हुने हिसाब सुनाए । सिटौलाले रातोपाटीसँग भने, ‘वडा अधिवेशन देशभर एक दिन गर्नुपर्छ । एकैदिन वडा अधिवेशन गर्ने गरी निर्वाचन समितिले मतदान अधिकृतहरु वडामा पुर्याउन सक्नुपर्छ ।’

क्रियाशील सदस्यको सूची टुंग्याएर निर्वाचन समितिलाई बुझाउन कम्तिमा अझै एक साता लाग्छ । निर्वाचनमा खटेका मतदान अधिकृतहरु सम्बन्धित वडामा पुगी पार्टी कार्यालयमा सूचना निकालिसकेपछि वडा अधिवेशन सुरु हुन्छ । छानविन समितिले केही विषयमाथि निर्णय गर्न नसकेपछि नेतृत्व तहमा पठाएको छ ।

त्यसका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको छ । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रुपमा राखिएको छ ।

पदाधिकारी बैठकले उच्चस्तरीय समितिलाई क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुंग्याउन म्यान्डेट दिएको छ । उच्चस्तरीय समितिको पहिलो बैठक शुक्रबार ११ बजे सभापति देउवाको निजी निवासमा बस्ने छ । नेता सिटौलाका अनुसार नेतृत्व तहले त्यो निर्णय गरेर क्रियाशील छानविन समितिमार्फत सदस्यता इन्ट्री गराइ सूचीलाई अन्तिमरुप दिन पाँचरसात दिन समय लाग्छ ।

सम्बन्धित समाचार