अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु


२७ श्रावण २०७८, बुधबार


सन्धिखर्क । अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अर्घाखाँची अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको हो । यससँगै कोराना संक्रमितको उपचारमा सहज भएको छ । यसअघि रुपन्देहीको बुटबलमा सिलिण्डर पुराएर भरेर ल्याउनु बाध्यता रहेको थियो । अब त्यो बाध्यता र अक्सिजन अभावले बिरामीले मृत्यु वरण गर्नु पर्ने बाध्यता टरेको छ ।

प्लान्टले २४ घन्टामा ७० वटा ठूला सिलिण्डर भर्ने छ । प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधि इन्टरनेशनलले प्रतिस्पर्धामार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमले गौतमले बताए ।

अर्घाखाँची जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३७ सय ४८ पुगेको छ । २९ सय १५ जनाले कोरोनालाई जितेका छन । अहिले जिल्लाभरमा ७ सय ५४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । अब विरामीलाई उपचारका लागि बुटबल र काठमाण्डौ रिफर गर्नुपर्ने बाध्यतामा पनि कमी आउने छ ।

विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको छ । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको अस्पतालले जनाएको छ ।

श्रावण १६ गते देखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षिय सहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

‘अक्सिजन प्लान्ट’ औपचारिक शुभारम्भ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, प्रहरी निरीक्षक गणेश खनाल, शसस्त्र प्रहरी निरीक्षक मणी पल्ली मगर, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्यलगायतको उपस्थिति रहेको थियो ।

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, मासु पसल, कृषिजन्य पसल बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् ।

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था बिहान ९ बजेसम्म खुल्ला रहने भएका छन् । सभा–सम्मेलन, गोष्ठी, भोजभतेर गर्न पाइने छैन भने लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लगायत निकायका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुनेछन् । मानिस अतिआवश्यक काम परे मात्र घर बाहिर निस्केका छन् ।

श्रावण ३० गते राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञाको समयमा कोहि कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । निषेधाज्ञाको पुर्णरुपमा पालना गर्न र जिल्ला कोरोनाको अती उच्च जोखिममा रहेकाले नियमको पुर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ ।

अर्घाखाँचीमा १८ वर्षभन्दा माथिका नागरिकहरु १ लाख १४ हजार ७ सय ५ जना रहेका छन् । ती मध्ये अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप प्रमुख राधाराम आचार्यले बताए । ती मध्ये कोभिशिल्ड पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाए भने ३ हजार ८ सय ९ जनाले दोस्रो मात्रा लगाई सकेका छन् ।

यस्तै भेरोसेल १४ हजार ६ सय ३३ जनाले पहिलो मात्रा खोप लगाईसकेका छन् भने ३ हजार १ सय ३२ जनाले दोस्रो खोप पनि लगाएका छन् । ११ हजार ५ सय १ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ ।

उनीहरुले २८ र २९ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए । यस्तै जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा खोप ९ हजार ५ सय ५० जनाले लगाएका छन् ।

सम्बन्धित समाचार