विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको पछिल्ला काम कारबाहीप्रति कर्मचारी असन्तुष्ट बनेका छन् । उनीहरुले कोरोना महामारीका बेला मनोमानी ढंगले विश्वविद्यालय संचालन गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले विश्वविद्यालय संचालनमा दीर्घकालीन एवं गम्भीर संकट आउन लागेको भन्दै ध्यानआकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै संघले विश्वविद्यालयका उपकुलपति डा। यादवराज कोइरालाको ध्यानआकर्षण पनि गराएको छ । महामारीले शैक्षिक गतिविधी ठप्प हुँदा विश्वविद्यालयको आम्दानी ५० प्रतिशतमा खुम्चिएको संघको ठहर छ । संघका सभापति राजकुमार सापकोटाले कोरोना महामारीले नियमित रूपमा पठनपाठन, परीक्षा लगायतका विभिन्न प्राज्ञिक तथा प्रशासनिक गतिविधीहरू संचालनमा असर परिरहँदा त्यसको समाधानका लागि कुनै चासो नदिएको बताए । विश्वविद्यालयमा व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला र शिक्षाशास्त्र गरेर सातवटा संकायमा ६० वटा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् ।
सापकोटाका अनुसार चिकित्साशास्त्र संकायअन्तर्गतका चारवटा शैक्षिक कार्यक्रममा चिकित्सा शिक्षा आयोगले सम्बन्धन प्राप्त १६ वटा क्याम्पसलाई विद्यार्थी भर्नामा रोक लगाइसकेको छ । ‘आयोगले लिएको प्रवेश परीक्षामा न्यून विद्यार्थी उत्तीर्ण भएका छन्,’ उनले भने, ‘जसका कारण विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी संख्या घट्ने निश्चित छ ।’
महामारीको विकराल अवस्थाले विश्वविद्यालयको आम्दानी घटेर आर्थिक संकट आउन लागेका बेला विद्यार्थीको सिकाई र शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन छाडेर ऐन एवं कानुनको उल्लंघन गरी विगतमा नियुक्त नभएका पदाधिकारीको नियुक्तिमा हतारो गरिएको भन्दै कर्मचारी संघले विरोध जनाएको छ । आर्थिक भार थपिने गरी आवश्यकता, औचित्य र त्यसले विश्वविद्यालयमा पार्ने आर्थिक प्रभाव एवं असरको गहन अध्ययन, विश्लेषण र मूल्यांकन नगरी ऐन, नियममावली तथा सांगठानिक संरचनामा समेत व्यवस्था नभएको पद सिर्जना गर्दै नियुक्ति गरिएको संघको ठहर छ ।
‘आगामी दिनमा विश्वविद्यालयका प्राज्ञिक तथा प्रशासनिक गतिविधि र नियमित पठनपाठन संचालन सम्बन्धी नीति निर्माण गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनिक संरचनालाई व्यवस्थित गरी परिणाममुखी बनाउने, शिक्षक तथा कर्मचारी अभावको पूर्ति गर्ने, नियमावलीलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने लगायतका विषय अन्योलमै छन् ।’ संघले शिक्षण अस्पताललाई व्यवस्थित बनाउने विषय प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएको छ ।
कर्मचारीले प्राज्ञिक तथा प्रशासनिक उन्नयनका सन्दर्भमा विभिन्न समयमा राखेका माग पूरा गर्न विश्वविद्यालयले चासो नदिएको सापकोटाले बताए । विश्वविद्यालयमा भौतिक निर्माणका काम अर्को संस्थालाई जिम्मा लगाउने र स्थायी रूपमा संचालन हुने संयन्त्रलाई भंग गरी कर्मचारीलाई कामविहीन बनाउने काम भएको गुनासो उनको छ ।
ऐन र नियमावलीको व्यवस्था विपरीत अहिलेलाई सान्दर्भिक नभएको पदमा जथाभावी पदाधिकारी एवं कर्मचारीको नियुक्ति, भौतिक तथा विलासी जीवनशैली अपनाएर गरिएको स्रोत साधनको दुरूपयोग र विश्वविद्यालयको आवश्यकतालाई पर पारेर फरक ढंगले हिँडनेजस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग संघले राखेको छ । वार्ताका माध्यमबाट अबको तीन दिनभित्रमा माग पूरा नभए आन्दोलनमा उत्रने संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया