प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालुवाटार स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने छ।

यस अगाडिको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी बनेको छ । यद्यपि पार्टीको चुनाव चिन्ह्को विषयमा ठोस निर्णय भइसकेको छैन । चुनाव चिन्ह् नतोकिएको भन्दै एमाले समाजवादीले यसबारे थप छलफल गरेर निर्णयमा पुगिने जनाएको छ ।

यस्तै जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर निवेदन दिएको छ। दलको चुनाव चिन्ह साइकल हुने भएको छ।

देउवासँग प्रचण्ड–नेपालको भेटवार्ता

बिहीबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बीच छलफल भएको हो। सत्ता गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको छ। प्रधानमन्त्री देउवा र प्रचण्डले माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो। तर बुधबार एमाले फुटाएर नेपालले नयाँ दल गठन गरेपछि मन्त्रिपरिषद् विस्तार र राजनीति घटनाक्रमबारे गठबन्धनमा शीर्ष नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले समाजवादी पक्ष सहभागी छ। अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

सम्बन्धित समाचार