विराटनगरस्थित तालिम केन्द्रमा दीक्षन्त समारोह, ६ सय ७१ प्रहरी दीक्षित


१५ भाद्र २०७८, मंगलबार


विराटनगर । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा मंगलबार प्रहरी जवान १३८ औँ समूहको दीक्षन्त समारोह सम्पन्न भएको छ ।
त्यस अवसरमा १३८ औँ समूहको आधारभूत तालिम लिएका १ सय ३३ महिलासहित ६ सय ७१ जना प्रहरी जवानलाई दीक्षित गरियो । दीक्षित हुने प्रहरी जवानमध्ये विराटनगरको तालिम केन्द्रमा ४ सय ८०, प्रदेश १ सशस्त्र प्रहरी गण रानीमा ९६ र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जनालाई प्रशिक्षण दिइएको थियो ।

तालिम २०७७ मंसिर ३ गतेदेखि सञ्चालन गरिएको हो । तालिममा सुरक्षा, प्रहरीको कामकर्तव्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन एवं प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रहरी जवानहरुलाई प्रशिक्षण दिइएको बताइएको छ ।

तालिम केन्द्रकी प्रमुख एवं समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले दीक्षान्त समारोहमा प्रहरी जवानलाई शपथ गराइन् । समारोहमा प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले इमान्दार बनेर निष्ठापूर्वक उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिँदै मन, बचन र कर्मले जनताको सेवामा लाग्न प्रहरी जवानहरुलाई आवश्यक निर्देशन दिए । उनले नयाँ भर्ना भएका प्रहरी जवानलाई शुभकामना पनि दिएका छन् ।

बीसीले तालिम अवधिभर लिइएको चरणगत परीक्षामा सर्वोत्कृष्ट हुने प्रहरी जवान उत्तमकुमार मगर लगायत विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने ८ जनालाई पुरस्कृत गरे । पुरस्कृत हुनेहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । समाज र संगठनको अपेक्षाअनुरुप सेवा गर्ने विश्वास लिँदै दीक्षित प्रहरीलाई अब आआफ्नो कार्यक्षेत्रमा खटाइने डीआईजी बीसीको भनाइ छ ।

सम्बन्धित समाचार