बैतडीमा कांग्रेस वडा अधिवेशन निर्धारित मितिमा नहुने



बैतडी । नेपाली कांग्रेसले देशभर भदौ १८ गते वडा तहको अधिवेशन गर्ने कार्यक्रम तय गरे पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिए।

‘वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘हामीले २१ गते जिल्लाका ८४ वटै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेका छौं।’

निर्वाचन अधिकृत पुष्पराज जोशी बैतडी पुगिसकेका भए पनि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त गर्न बाँकी रहेको विष्टले बताए। उनले भने, ‘मतदान अधिकृत नियुक्त गरेर उनीहरुलाई प्रशिक्षण पनि दिन्छौं, अनि उनीहरुलाई खटाइन्छ।’

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिनपछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले बताए।

अधिवेशनका लागि बैतडीका ८४ वटै वडामा मतदान अधिकृत तोक्न बाँकी नै रहेको र नेपाल शिक्षक संघ बैतडीले प्रत्येक वडाका लागि निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउनेछ। संघले वडा निर्वाचन अधिकृतको नामावली उपलब्ध गराएपछि उनीहरुलाई भदौ १७ गते प्रशिक्षण दिइने बताइएको छ। यसका साथै उनीहरुलाई मतदान सामग्रीहरु समेत उपलब्ध गराइने छ।

यस्तै‚ क्रियाशील सदस्यतामा कुनै त्रृटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिने निर्णय पनि जिल्ला कार्य सम्पादन समितिको बैठकले गरेको छ।

 

सम्बन्धित समाचार