खाँदबारी-किमाथांका (कोशी राजमार्ग) सुविधा भन्दा सास्ती धेरै



विकासको मुख्य पूर्वाधारको रुपमा सडक सञ्जाललाई लिने गरिन्छ । आर्थिक क्रियाकलापलाई परिमाणात्मक र नतिजामूलक बनाउने एकमात्र आधार सडक सञ्जाल नै हो । यातायातको असुविधा व्यहोरिरहेका नेपाली जनताको प्राथमिकतामा सडक सञ्जाल पहिलो नम्वरमा पर्छ । तर जनताको सेवा सुविधाको लागि भन्दै गाउँसम्म पुगेको सडकले सुविधा भन्दा धेरै सास्ती दिने गरेको संखुवासभाका नागरिकहरुको गुनासो छ ।

सडक यातायात सुविधाको प्रथम पूर्वाधार खाँदबारी किमाथांका सडकको अहिलेको अवस्था सामान्य सोचाई भन्दा फरक छ । भविष्यमा आर्थिक विकासका लागि पूर्वी नेपालकै मेरुदण्ड बन्न सक्ने अपेक्षा भए पनि कोशी राजमार्गको रुपमा परिचित यो सडक हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुहरुको आवतजावत र सामान ढुवानीमा निक्कै समस्या हुने गरेको छ । सडकको दुर्दशाकै कारण गत भदौ महिनामा मात्रै यो सडक खण्डमा २ जनाले ज्यान गुमाउनु परेको छ ।

सडकको खाल्डा खुल्डीका कारण यातायात व्यवसायीलाई सकस त छँदैछ, यात्रुहरुलाई समेत यात्राका क्रममा लडेर ठोक्किएर चोटपटक लाग्ने गरेको छ । यात्रा कै क्रममा सभापोखरीका पुर्णिमा वनेमलाई टाउकोमा चोट लाग्यो । उपचार गराउन जिल्ला अस्पताल आएका पुर्णिमालाई गाडीले उफारेर ठोक्कीए पछी ८ टाँचा लगाउनु प¥यो । उनले भने, गाडीका अरु यात्रुहरु ओलिएर सजिलो बाटोसम्म हिँडे हामी बिरामीहरु गाडीमा नै थियौं, खाल्डामा फसेको गाडी जोडले निस्कने क्रममा टाउँको ठोकियो ।

सडकको यो हालत हुनुमा नियामक निकायको जिम्मेवारी पहिलो हो भन्ने आम ठम्याई छ । आफ्नो सुविधाका लागि सडक निर्माण गर्न व्यवहारिक समझदारी गरेका स्थानीय जनताले आफूले प्रयोग गर्न नै नहुने गरी अन्यान्यले क्षतविक्षत हुने गरी यातायातका साधन गुडाईरहेको चूपचाप हेरिरहनु परेको छ । नियामक निकायले बेवास्ता गरी दिनाले सडकको क्षमता भन्दा बढी तौल भएका ढुवानीका साधनहरु निर्वाध आवतजावत गर्नाले यो नतिजा देखा परेको हो ।

यो सडकमा विगत करिब दश वर्ष अघिदेखि भारत सरकारको निर्माण कम्पनी सतलज जलविद्युत निगम र निगमद्वारा नियुक्त भारतीय ठेकेदार जे.पि.कम्पनी एवम् पटेल निर्माण कम्पनीका सवारी साधनहरु दिनरात गुड्दै आएका छन् । अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि आवतजावत यी सवारी साधनमार्फत निगमले आयोजनास्थल फ्याक्सिन्दा र पुखुवामा आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दै आएको बताइन्छ । सडकको भारवहन क्षमता भन्दा बढी तौलका यी भारतीय कम्पनीका सवारी साधनहरुको आवागमनले सडकको हालत बिग्रिएको यातायात व्यवसायी मोहन मगर बताउँछन् ।

सामान्य रुपमा जनदवावका कारण एकतर्फि हलुका सवारी साधन मात्र गुड्न सक्ने गरी खाँदवारी बजारसम्म यो सडक कालोपत्रे गरिएको थियो । ठूला ठूला असिमित भार बोकेका सवारी साधन यो सडकमा गुडाइन्छ भन्ने अनुमान पनि गरिएको थिएन । खाँदवारी बजार माथि त जम्माजम्मी डोजरले माटो खनेर सडकको आकार मात्र दिइएको थियो । जसमा स्थानीयले स–साना जीप अर्थात हलुका सवारी साधन गुडाउने गरेकोमा अहिले यो माटोको सडकमा बडेमानका ट्रक र कन्टेनर गुडेको देख्न पाइन्छ । एउटा विदेशी त्यसमा पनि नाफाका लागि नेपाल पसेको भारतीय कम्पनीका कारण सडकमा पुगेको क्षती र यसबाट स्थानीय जनतालाई परेको असरको बारेमा भने जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा बुद्धिजीवी समाज समेत चुप छ ।

सडकको दुर्दशा समाधान गर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले गत भदौ १६ गते पत्रमार्फत उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयलाई अनुरोध गरेको थियो । सरोकार राख्ने निकायहरुको उपस्थितिमा पटकपटक बैठक बसेर सडक मर्मत गर्न अनुरोध गरिए पनि आयोजना कार्यालयले चासो नराखे पछी तत्काल मर्मत कार्य गर्न गराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए ।

तर सडक मर्मत गर्नु पर्ने जिम्मेवारी पाएको सडक कार्यालयले विभिन्न कारण देखाउँदै कानमा तेल हालेर बसेको छ । सडक कार्यालय मार्फत यही बिषयमा जानकारी लिँदा खाँदबारी किमाथांका सडकको खाँदबारी नुम खण्ड ३९ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भईसकेकाले दोहोरो खर्च गर्न नमिल्ने जवाफ दिने गरेको छ । तर चाडबाडलाई लक्षित गरि मौसममा सुधार भएसंगै सडक मर्मत गर्ने बताइए पनि हालसम्म कार्यालयले सडक मर्मतमा चासो गरेको भने देखिएको छैन । कार्यालयले नै प्रयोजन गर्ने भनेर ब्याकुलोडर अहिले कार्यालय परिसरमा नै थन्किएको छ । चालकलाई कोरोना पोजेटिभ देखिएपछी उनी उपचाररत छन् उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुखगौतम कुमार श्रेष्ठले बताए ।

तर सडकको अवस्था हेर्ने हो र जिम्मेवार निकायको चिप्लो यो जवाफले सडक तत्काल सुधार हुने अवस्था छैन । वर्षेनी सडक मर्मतको नाममा खर्च हुने गरेको छ । र आयोजना कार्यालय र ठेकेदारको समझदारीमा हुने त्यो खर्च बालुवामा पानी हराए जस्तै हराउने गरेको छ । सडक मर्मतमा खर्च देखार्र्ईए पनि क्षतविक्षत भएको सडक मर्मत भएर सवारी साधनका लागि सहज नहुँदा र जिम्मेवार निकायको इमान्दार कार्यान्वयन तथा निगरानी नहुनुले जनताको सुविधाको लागि बनाएको सडकले सडक उपभोक्ता र स्थानीयलाई हैरानी दिएको छ । अनि जनताको करको दुरुपायोग भएको छ ।

सम्बन्धित समाचार