खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नम्बर १ टुँडिखेल स्थित चुम्लुङ होटलमा एक व्यक्ती मृत अवस्थामा फेला परेका छन्। उत्तर दक्षिण कोशी सडकका एक जना मजदुर होटलमा सुतेको ठाउँमा मृत भेटिएको हो ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय एकराज चलाउने होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। मृतक चलाउनेसँगै सुतेका साथीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।साथीसँग सुतेका चलाउने शुक्रबार बिहान साढे ६ बजे सुतेको ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक लामिछानेले बताए। उत्तर दक्षिण कोशी सडक आयोजना अन्तरगत भोटखोला गाउँपालिका वडा नम्बर ३ हुुङहुङ देखि च्याम्ताङसम्मको सडक निर्माणमा काम गर्न उनी बिहीबार मात्र संखुवासभा आइपुगेका थिए।
उत्तर दक्षिण कोशी सडक आयोजनाको हुुङहुङ देखि च्याम्ताङ सडक खण्डको २१ किलोमिटर सडक स्तरउन्नतीको जिम्मा ओशिस एण्ड बिल्डर्स कम्पनीले पाएको थियो। उक्त सडक निर्माणका लागि सल्यान र दाङ जिल्लाबाट ५५ जना मजदुर हिजो बिहीबार मात्र खाँदबारी आइपुगेको ओशिस कम्पनीका पेटी ठेकेदार शुलाल बुढाथोकीले बताए। खाना खाएर उनीहरु एउटै कोठामा ७ जना सँगै सुतेको ओशिस कम्पनीका पेटी ठेकेदार बुढाथोकीले बताए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया