बाजुरा । जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्ला अस्पतालका अनुसार २८ जनामा सो रोग देखा परेको छ । असारदेखि स्क्रब टाइफसको संक्रमण देखा परेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले बताएका छन् ।
स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखा पर्ने डा। प्रकाशराज जोशीले बताए । यो रोगको उच्च जोखिममा रहेको उनले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिनु हो। व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका उल्लेखित लक्षणहरु मध्ये कुनै पनि देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श लिनु पर्ने डक्टर जोशीले बताए ।
उनले भने, ‘मुसा, छुचुन्रोलगायतका जीवहरुमा पनि यो व्याक्टेरिया भेटिन्छ।’ विशेषतः गर्मी मौसममा देखा पर्ने यो रोगबाट बच्न सर्वसाधारणलाई सुझाव दिँदै उनले भने, ‘घर वरिपरी सफा राख्नुपर्छ । मुसा, किर्ना नियन्त्रण गरी शरीर पूरै ढाकिने खालको कपडा लगाउनुपर्छ ।’
यो रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिन्छ । पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य कार्यालय बाजुराले भने यो रोगबारे कुनै जानकारी नरहेको बताएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष नेपालमा यो रोगका कारण ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८४ जना सङ्क्रमित भएका थिए । यो वर्ष भने रोगको संक्रमण धेरै फैलिन सुरु भएको छ। चिकित्सकका अनुसार नियमित औषधि सेवन गर्दा निको हुन्छ।
प्रतिक्रिया