काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार साँझसम्म परिणाम आएका ६ सय ५ वटा पालिकामध्ये २ सय ५० पालिकामा आफू पक्षका उम्मेदवार विजयी भएका सभापति शेरबहादुर देउवा पक्षले दावी गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १ सय ८० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका १६ जना पालिका सभापतिमा निर्वाचित भएको संस्थापन समूहको भनाइ छ ।
विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना पालिकाको नेतृत्वमा निर्वाचित भएका छन् । ४९ जना पालिका सभापति भने कुनै पनि पक्षमा नखुलेको बताइएको छ ।
प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा आफूहरुले ६० स्थानमा सभापति जितेको संस्थापनको दावी छ । पौडेलरकोइराला पक्षले ४९ स्थानमा र सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएको तथ्यांक संस्थापन समूहले सार्वजनिक गरेको छ ।
बागमति प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको दावी गरेको छ । पौडेल पक्षले ३३ स्थानमा सभापति जितेको छ ।
गण्डकी प्रदेशको ८५ पालिकामा अधिवेन सम्पन्न भएको छ । तीमध्ये संस्थापन समूहका ३९ र पौडेल समूहका २७ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा अधिवेशन सम्पन्न भएका ८८ पालिकामध्ये आफूहरुले ३५ स्थानमा सभापति जितेको संस्थापनको दावी छ । लुम्बिनीमा पौडेल समूहका २९ जनाले मात्रै सभापति जितेको तथ्यांक छ ।
कर्णालीमा अधिवेशन भएका ६२ पालिकामध्ये संस्थापन समूहले ३६ पालिकाको नेतृत्व जितेको छ भने पौडेल समूहले २६ पालिकामा सभापति जितेको संस्थापनको दावी छ । कांग्रेस सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमा पनि संस्थापन समूह अगाडि छ ।
प्रतिक्रिया