विमानस्थलमा कोभिड परीक्षण शुल्क १२ सय बढी नलिन निर्देशन


१५ कार्तिक २०७८, सोमबार


काठमाडौं । सरकारले त्रिभुवन विमानस्थल परिसरमा गरिदै आएको कोभिड १९ परीक्षणको शुल्क घटाउन निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि गरिने कोभिड परीक्षण शुल्क महंगो भएको भन्दै चौतर्फी आलोचना भएसँगै सरकारले घटाउन निर्देशन दिएको हो।

विमानस्थलमा कोभिड परीक्षण गर्दा १ हजार २ सयभन्दा बढी शुल्क नलिन सरकारले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। रोजगारीको खोजीमा विदेशिनेलाई विमानस्थलमा कोभिड परीक्षण गर्दा २ हजार सम्म लिने गरिएको छ। त्यसलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्थालाई पत्राचार गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूका लागि पिसिआर परीक्षण शुल्क जथाभावी लिएको पाइएमा प्रयोगशालाहरूलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल परिसरमा रहेका पिसिआर परीक्षणका स्थापित प्रयोगशालाहरूले जथाभावी शुल्क लिएको गुनासो आएपछि विमानस्थल संचालक विभागले आठ वटा प्रयोगशालाहरूलाई पत्राचार गरेको छ।

स्टार हस्पिटल, टिजी मेडिसिन डिस्टिव्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलि क्लिनिक र विधि ल्याबलाई पत्राचार गर्दै पिसिआरको १२ सय भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ।

केही दिनअघि विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा बढी शुल्क लिएको गुनासो आएको भन्दै विमानस्थल संचालक विभागले वीर अस्पतालले एक हजार लिइरहेको भन्दै विमानस्थल परिसरमा भएका प्रयोगशालाहरूले १२ रुपैयाँ सयभन्दा बढी नलिन सचेत गराएको छ।

सम्बन्धित समाचार