काठमाण्डौ । तिहारका लागि काठमाण्डौबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिले बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको छ । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।
कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ ।
परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने डाक्टर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ । त्यसपछि थप निर्णय गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया