एमाले १०औँ महाधिवेशन : अध्यक्ष ओलीसहित नेताहरु चितवन जाँदै



काठमाण्डौ । १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जाँदै हुनुहुन्छ । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

ओलीसहितका अन्य केही नेताहरू पनि आजै चितवन पुग्नेछन् । एमालेको १० औँ महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । यो मस्कट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ ।

सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी बनाइएको छ । महाधिवेशनको बन्दसत्र हुने ठाउँ होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन् ।

देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् ।

उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने तयारी छ।

सम्बन्धित समाचार