आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी


१६ मंसिर २०७८, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।

प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ ।

सिटौला समूहबाट कांग्रेस झापाका पूर्व सभापति उद्धव थापा उम्मेदवार बन्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश एकका संसदीय दलका नेता राजीव कोइराला सभापतिका आकांक्षी छन् ।

प्रदेश दुईमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहबाट कांग्रेस मकवानपुर सभापति इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बनेका छन् ।

गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

लुम्बिनीमा संस्थापन समूहबाट सांसद भरत शाह उम्मेदवार बन्दैछन् भने पौडेल समूहले कांग्रेस रोल्पाका पूर्वसभापति अमर पुनलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । कर्णालीमा संस्थापन समूहले उम्मेदवार टुंग्याइसकेको छैन भने पौडेल समूहबाट नेता भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा संस्थापन र इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ । प्रदेश अधिवेशनका लागि प्रदेशसभा निर्वाचन समितिबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ ।

सम्बन्धित समाचार