काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भइरहेको हो।
मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भए पनि करिब १२ बजेबाट सुरु भएको छ। मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रीय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिए।
उनले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताए। निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ।
त्यसपछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ।
राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ। अध्यक्ष थापाले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिए। उनले पार्टीभित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धाले पार्टीलाई झनै सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अर्का अध्यक्षका प्रत्यासी लिङ्देनले पार्टीको एजेन्डालाई जनताको बीचमा लैजाने काममा विगतका नेतृत्वले कमजोरी गरेकाले त्यसलाई सच्याउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए। उनले महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने दाबीसमेत गरे।
महाधिवेशनका ४ हजार ३८० प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिइरहेका छन्। १४१ जना केन्द्रीय सदस्यका लागि २७० जनाको उम्मेदवारी परेको छ।
राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन भने बाँकी ५० जना अध्यक्षले मनोनीत गर्ने वैधानिक व्यवस्था छ।
८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका केन्द्रिय निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया