काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा शुक्रबार राति नौ बजेदेखि बन्द सत्र शुरु भएको हो ।
बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
कांग्रेसले यसपटक नीति अधिवेशन छुट्टै गर्ने र महाधिवेशनबाट नेतृत्व चयन मात्रै गर्ने भएकाले बन्द सत्रमा तीन प्रतिवेदन पारित भएपछि निर्वाचनको कार्यक्रम शुरु हुने नेताहरुले बताएका छन् ।
महाधिवेशनको निर्वाचन कार्यक्रम अनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । सोमबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
प्रतिक्रिया