हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी घोषणा


२८ मंसिर २०७८, मंगलबार


काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशील पार्टीको घोषणा गरेका हुन्।

त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताए। उनले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए।

‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन,’ पूर्वमन्त्री त्रिपाठीले भने‚ ‘अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावविहीन तथान गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भई देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ। अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वास्थ प्रतिष्पर्धामा हाम्रो रुचि रहने छैन।’

पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गरे। उनले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताए।

त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए। उनले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु बिडम्बना भएको पनि टिप्पणी गरे।पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि माग राखे।

सम्बन्धित समाचार