काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा निर्वाचित भएका छन्।
उनी मतगणना नसकिँदै सभापतिमा निर्वाचित भएका हुन्। बुधबार बिहान २ बजेसम्म ३८१९ गणना हुँदा देउवाले २२८८ मत प्राप्त गरेका छन्।
कांग्रेसको सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। देउवाले मत गणना नसकिँदै ५० प्रतिशतभन्दा बढी अर्थात २२८८ मत प्राप्त गरेका छन्।
दोस्रो चरणमा भएको मतदानमा ४५६४ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २२८३ मत आवश्यक पर्छ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरु भएको मतदान राति साढे ९ बजेसम्म मतदान भएको थियो।
निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन्। सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए।
सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाएका थिए। उनले २२५८, निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका थिए।
सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए।
सभापति प्रत्यासी शेखर बाहेक प्रकाशमान, विमलेन्द्र र कल्याणले समर्थन गरेपछि देउवालाई जीतका लागि सहज भएको थियो।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतअन्तरले हराउँदै देउवा पार्टी सभापति बनेका थिए।
प्रतिक्रिया