दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन



काठमाण्डौ । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन भएको छ ।

नोबल शान्ति पुरस्कार विजेता उहाँको ९० वर्षको उमेरमा हिजो निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पुष्टि गर्नु भएको छ । राष्ट्रपति रामाफोसाले उहाँको निधनलाई ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताउनु भएको छ ।

उहाँ, रङ्गभेद विरोधी आन्दोलनका नायक एवम् दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका समकालीन हुनुहुन्थ्यो । टुटु, सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो ।

मन्डेलाले उहाँलाई रङ्गभेद नीति भएको समयमा अपराधको अनुसन्धान गर्न गठित सत्य निरुपण आयोगका प्रमुख नियुक्त गर्नु भएको थियो । टुटुले रङ्गभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो ।

शिक्षक रहेका टुटुले रङ्गभेदी नीतिको अन्त्यपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई सम्बोधन गर्न इन्द्रेणी राष्ट्र नामाकरण गर्नु भएको थियो । सन् १९५३ मा विद्यालयमा रङ्गका आधारमा विद्यार्थी छुट्याउने कानुन बनेपछि उहाँ शिक्षण पेसा छोडेर चर्चमा प्रवेश गर्नु भएको थियो।

सम्बन्धित समाचार