वीरगञ्जमा बढ्न थाल्यो कोरोना संक्रमण, खतराको संकेत



वीरगञ्ज । गत महिना श्रीमान र छोरासहित पोखरा–बाग्लुङलगायत क्षेत्रको भ्रमण गरेर फर्किएकी वीरगञ्जकी ३२ वर्षीया महिलालाई रुघाखोकी र ज्वरो आयो । नेशनल मेडिकल कलेजमा उपचार गराउँदा ठीक नभएपछि नारायणी अस्पतालमा डा। उदयनारायण सिंहकोमा पुगे ।

पुस ११ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइनन् । उपचारपछि उनको अवस्था सामान्य छ ।

‘पर्यटकीय स्थलहरुमा भिडभाड हुनु स्वभाविक हो । अन्य सावधानी त अपनाएकै थियौं’ ती महिलाका श्रीमानले भने, ‘उनलाई संक्रमण भएछ, छोरा र मलाई संक्रमण देखिएन ।’

पुस १३ गते वीरगञ्जमा १४ जनाको पीसीआर परीक्षण गर्दा थप एक जनामा संक्रमण देखियो । पुस १६ र १९ गते गरिएको पीसीआर परीक्षण रिपोर्टले चिकित्सकहरुलाई समेत झस्काएको छ । पुस १६ गते २२ जना र १९ गते २४ जनामा पीसीआर परीक्षण गर्दा ३र३ जनामा संक्रमण देखिएको छ ।

१६ गते संक्रमण पुष्टी भएका तीनै जना भारतको दिल्ली पुगेर फर्केका थिए । दुवै मात्रा खोप लगाइसकेका उनीहरुको अवस्था सामान्य छ ।

वीरगञ्जसँग सीमा जोडिएको बिहारमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बिहीबारदेखि लागु हुनेगरी प्रि स्कूल र कक्षा १ देखि ८ सम्म अनलाइनमार्फत पढाउन भनिएको छ । कक्षा ९ देखि १२ सम्म ५० प्रतिशतको सहभागितामा पढाउन, सिनेमा हलमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न र बिहेमा पनि सहभागी हुनेहरुको संख्या घटाउन भनिएको छ ।

सम्बन्धित समाचार