चैनपुरका शिक्षकलाई कक्षागत योग सम्बन्धि तालिम सम्पन्न



संखुवासभा । स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चैनपुर नगरपालिका भरिका सबै वडाका विद्यालयका शिक्षकहरुलाई नगरस्तरीय योग सम्बन्धी तालिम संखुवासभा बहुमखी क्याम्पसमा सञ्चालन भएको थियो । नगरका हरेक विद्यालयमा कक्षागत योग शिक्षा प्रदान गर्ने उद्देश्यका साथ दुई दिने योग सम्बन्धी तालिम गत मंगलबार सम्पन्न भएको हो ।

मन र शरीरलाई जोड्ने अभ्यास नै योग भएकाले शरीरलाई चलाएमान बनाउदै मनलाई शान्त राख्न योगले मद्धत गर्ने भएकाले ज्ञान योग, ध्यान योग, अध्यात्म, शरीर र मनलाई जोडने संयन्त्र योग भएकाले बालबालिका, युवा तथा वृद्धा सबैमा योगले सकारात्मक उर्जा दिनसक्ने चैनपुर पतन्जली नगर योग समितका अध्यक्ष एवं तालिम सहजकर्ता नरबहादुर अधिकारीले बताए । उनले मानिसको मन शान्त हुनुपर्ने हो तर धेरै चन्चल हुन्छ, नकारात्मक सोच आउने गर्दछ, त्यसैले शरीरलाई चलायमान वनाउन मनलाई सकारात्मक सोचतर्फ उन्मुख गराउन योगले सिकाउने स्पष्ट पारे । विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएकाले शिक्षकहरुलाई योग तालिमको आवश्यकता परेको समेत सहजकर्ता अधिकारीको भनाइ छ ।

चैनपुर नगरपालिकका मेयर भरतकुमार खत्रीले विज्ञानले विकास गर्नुभन्दा अघि देखि नै विकास हुँदै आएको बैद्धिक, आयुर्वेदिक लगायतले योगको विकास हुँदै आएकोले स्वास्थ्यको हिसाबले ज्यादै उपयोगी भएको बताए । उनले विद्यालयमा कक्षागत पाठ्यक्रममा समेत योग सम्बन्धी समावेश भएको हुँदा शिक्षकले तालिम लिएर विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरी निरोगी बालवालिका उत्पादनमा सहयोग पु¥याउने आशाका साथ यस किसिमको तालिमको आयोजना गरेकोमा आयोजक चैनपुर आयुर्वेद शाखालाई समेत दिए ।

कार्यक्रममा योगका विभिन्न चरणहरु लगायत आयुर्वेदसँग सम्बन्धित उपचार पद्धती, उपयोग, महत्व, लगायत जडीबुटीको प्रयोगका विषयमा समेत तालिममा सहभागी शिक्षकहरुलाई ज्ञान प्रदान गरिएको चैनपुर आर्युर्वेद शाखाका प्रमुख एवं कविराज निरीक्षक दिनेशप्रसाद रायले जानकारी दिए ।

चैनपुर नगरपालिका स्तरीय विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा नगरका १९ वटा आधारभूत र माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रममा चैनपुर नगरपालिका उपमेयर मुना श्रेष्ठ, संखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडाबहादुर कटुवाल र जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार