बिनोद किराँतीको पहिलो पुस्तक ‘संघर्षका छालहरु’ लोकार्पण



ताम्कु । बिनोद किराँती (गुराँस सेगमेन्ट) को पहिलो पुस्तक संघर्षका छालहरु लोकार्पण गरिएको छ । सिलिचोङ गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका विच पुस्तक विमोचन गरिएको हो ।

पुस्तकलाई साहित्यकार ताराबहादुर बढाथोकी (पाख्रीबासे कान्छो) सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङ र उपाध्यक्ष लालकुमारी कुलुङले संयुक्त रुपमा लोकार्पाण गरेका हुन् । लोकार्पण कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थित साहित्यकार बुढाथोकीले पुस्तकको समालोचना गर्नुभएको थियो । पुस्तकको रुप पक्षमा कभर अति शुन्दर र कभर डिजाईन अमुर्त चित्रमा तयार गरिएको बताउनुभयो । पुस्तकका लागि गुणस्तरिय कागज प्रयोग गरिएकोले यसले पनि पुस्तकको गुणस्तर कायम गरेको साहित्यकार बुढाथोकीको भनाई थियो ।

भावपक्ष तर्फ कथा वस्तु केहि काल्पनिक र यथार्थ परक रहेको बुढाथोकीको भनाई छ । पुस्तकमा समावेश गरिएका विषयबस्तुको आधारमा समाजवादी, यथार्थबादी र प्रगतिवादी पुस्तक बनेको साहित्यकार बुढाथोकीले बताउनुभयो । पुस्तकको समग्र पक्ष राम्रो भए पनि उपशिर्षक नराखिदा अध्ययनमा पाठकहरुलाई असहज हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै दश बर्षे जनयुद्धको घटना क्रम र त्यस बेलाको अनुभवहरुलाई समेटेर पुस्तक तयार गरिएको लेखक विनोद किराँतीले जानकारी दिनुभयो । तत्कालिन विभेदपुर्ण समाज, समाज सुधारका लागि गरिएको सशस्त्र आन्दोलन हुँदै जनप्रतिनिधी भएसम्मको आफ्नो भोगाईहरु पुस्तकमा समावेश गरिएको लेखक किराँतीले जानकारी दिनुभयो ।

लेखक किराँतीले जनयुद्धको समयमा सेक्सन कमाण्डरसम्मको जिम्मेवारी पुरा गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सिलिचोङ गाउँपालिकाको वडा नं. ३ को अध्यक्षमा पराजित भएपनि पछि कार्यपालिका सदस्यमा मनोनित भएका थिए ।

सम्बन्धित समाचार