मुस्ताङमा संघ तथा प्रदेशको विकास खर्च ५४ करोड ७६ लाख



जोमसोम । हिमाली जिल्ला मुस्ताङमा संघ तथा प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित कुल पुँजिगत विकास खर्च १ अर्व ९७ करोड ३४ लाख मध्ये चालु आवको ६ महिना अवधिमा ५४ करोड ७६ लाख अर्थात २७ दशमलव ७४९ प्रतिशत खर्च भएको छ। यस्तै,संघ तथा प्रदेशको चालु खर्च २ अर्ब ३५ करोड ८३ लाख मध्ये १ अर्ब १७ लाख अर्थात ४२ दशमलव ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङमा संघीयतर्फ २३ वटा र प्रदेशतर्फ ९ वटा कार्यालय छन्। यी कार्यालयहरुका लागि विनियोजित भएको कुल बजेटको ३५ दशमलव ७७ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक डोलेश्वर अर्यालले जानकारी दिए। उनका अनुसार संघीयतर्फको पुँजिगत बजेट १ अर्ब ५७ करोड ५० लाख मध्ये ६ महिनाको अवधिमा ४४ करोड ६५ लाख ७० हजार अर्थात २८ दशमलव ३५ प्रतिशत खर्च भएको छ। यस्तै संघीय चालुतर्फ २ अर्ब १ करोड ९४ लाख मध्ये ९१ करोड ३१ लाख अर्थात ४५ दशमलव २२ प्रतिशत खर्च भएको उनले बताए। प्रदेशतर्फ कुल पँुजिगत विकास खर्च ३९ करोड ८३ लाख मध्ये १० करोड १० लाख अर्थात २५ दशलव ३६ प्रतिशत खर्च भएको छ भने चालुतर्फ ३३ करोड ८९ लाख मध्ये ८ करोड ८५ लाख अर्थात २६ दशमलव १४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक अर्यालको भनाई छ।

संघीय कार्यालय अन्तर्गत कुल पँजिगत बजेट १ अर्ब ५७ करोड मध्ये उत्तर(दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कार्यालयलाई १ अर्ब ३८ करोड २९ लाख विनियोजन गरिएको थियो। करिडोरलाई छुट्याईएको बजेट मध्ये ६ महिनामा ४० करोड २९ लाख अर्थात २९ प्रतिशत खर्च भएको कालिगण्डकी करिडोर कार्यालय जोमसोमका लेखापाल ईश्वर गैरेले जानकारी दिए। उनका अनुसार आयोजनाको पर्वत मालढुङ्गादेखि कोरला सम्मको निर्माणधिन १२ वटा पक्की पुलका लागि ८ करोड बजेट मध्ये ४ करोड १२ लाख अर्थात ५१ प्रतिशत खर्च भएको हो।यस्तै,सडक स्तरोन्नतितर्फ विनियोजन भएको १ अर्ब ३० करोड बजेटमा ३६ करोड १७ लाख अर्थात २८ प्रतिशत खर्च भएको लेखापाल गैरैले बताए।चालु वर्षमा विनियोजन भएको बजेट मध्ये सन्तोषजनक रुपमा बजेट खर्च भएको उनले बताए।

यस्तै प्रदेश कार्यालय अन्तर्गत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खानेपानी,जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालय मुस्ताङलाई विनियोजन भएको १६ करोड ६६ लाख मध्ये ६ महिनाको अवधिमा ४ करोड अर्थात २४ प्रतिशत खर्च भएको छ। कार्यालयका लेखापाल महेन्द्र थकालीका अनुसार पुँजिगत विकास खर्च १५ करोड ४७ लाख मध्ये ३ करोड ५७ लाख अर्थात २३ दशमलव १४ प्रतिशत खर्च भएको हो। यस्तै चालुतर्फ १ करोड १९ लाख मध्ये ४२ लाख अर्थात ३५ प्रतिशत खर्च भएको छ।

सम्बन्धित समाचार