विराटनगर । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा ९एमाले० विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।
उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।
एमाले नेता पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा थियो । तर उनीहरूको नाम सिफारिस भएन् । एमाले नगर कमिटी स्रोतका अनुसार ती नेताहरूले सर्वसम्मत हुने अवस्थामा मात्रै आफ्नो नाम सिफारिस गर्न चाहेका थिए । तर दाबेदार पाँच जना निस्कीएपछि दुई पूर्व मन्त्री पछि हटेका थिए ।
एमाले विराटनगर महानगरअध्यक्ष सागर थापाका अनुसार नगरबाट आकांक्षीको सबैको नाम सिफारिस भए पनि प्रदेश कमिटीले उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ ।
बैठकले विराटनगर १०, ११ र १९ नम्बर वडाको अध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाएको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य वडामा चैत भित्र टुङ्गो लाग्ने नगर अध्यक्ष थापाले बताए ।
प्रतिक्रिया