चिचिलामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्रको स्थापना



खाँदबारी । चिचिला गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । पालिकाका नागरिकहरुलाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने गरि वडा नम्बर १ चिचिला बजारमा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सेवा केन्द्रको स्थापना गरिएको हो । सेवा केन्द्रको उद्घाटनसँगै निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । उक्त सेवा केन्द्रबाट नियमित रुपमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराईने बताईएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको मातहतमा रहने उक्त सेवा केन्द्रबाट एक कार्यालय सहयोगी सहित बैद्यले नियमित सेवा दिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर राम प्रबोध चौधरीले जानकारी दिनुभयो । एलोप्याथीक र आयुर्वेदीक औषधीको उद्देश्य एउटै भए पनि आयुर्वेदिक औषधी आफ्नै गाउँ ठाउँमा पाईने विभिन्न जडिबुटीहरुबाट बनाईने भएकोले नकरात्मक असर कम र प्रभावकारीता बढी रहेको डाक्टर चौधरीको भनाई छ ।

पछिल्लो समय आयुर्वेदीक औषधीको प्रभावकारीता aबढ्दो रहेको डाक्टर चौधरीको भनाई छ । पछिल्लो समय नेपाल सरकारको प्राथमिकतामा समेत रहेको उहाँको भनाई छ । संखुवासभामा पनि आयुर्वेद सेवाकेन्द्रहरु बढ्दो अवस्थामा रहेको चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले सेवा केन्द्रको संरक्षण तथा सम्बद्र्धनमा गाउँपालिकाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । प्रदेश सरकार अन्तर्गतको जिल्ला आयुर्वेद सेवा केन्द्रको मातहतको नागरिक आरोग्य सेवा केन्द्र भएपनि ब्यवस्थापनमा गाउँपालिकाले अविभावकीय भुमिका निर्वाह गर्नु पर्ने शाक्यको भनाई थियो ।

नागरिकहरुको स्वास्थ्य रहनका लागि औषधिको प्रयोग मात्र नभएर स्वास्थ्य खानपान तथा ब्यावहार महत्वपुर्ण रहेको र त्यस सम्बन्धी जनचेतना फैलाउनका लागि स्थानीय तहको वडासम्म नै स्थानीय आरोग्य समिति गठन गर्नु पर्ने शाक्यको भनाई छ । उक्त समिति गठन गर्ने ब्यवस्था कार्यविधिमा नै उल्लेख गरिउकोले चिचिला गाउँपालिकामा समेत वडा तहसम्म नै आरोग्य समिति गठन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले आफ्नै पालिकामा आयुर्वेदिक सेवा लिन पाउँदा खुसी ब्यक्त गर्नुभयो । यस अघि आयुर्वेद सेवाको लागि टाढा धाउनु पर्ने बाध्यता हटेको उहाँको प्रतिकृया थियो । कत्तिपयले पालिकामै पाउने सेवाको बारेमा जानकारी नपाउने भएकोले सवैले सुचना प्रबाह गर्नु पर्ने उपाध्यक्ष राईको भनाई थियो ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले नागरिक आरोग्य सेवा केन्द्रको अविभावकत्व पालिकाले ग्रहण गर्ने बताउनुभयो । ढिलो गरि भएपनि आफ्ना नागरिकहरुका लागि आएको सेवामा कुनै कमजोरी हुन नदिने शेर्पाको प्रतिबद्धता थियो ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी र स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित समाचार