संखुवाखोलाबाट विद्युत निकालिदै, उत्पादक ह्याप्पी ईनर्जीले गरे सार्वजनिक सुनुवाई



खाँदबारी । संखुवासभाको माथिल्लो संखुवाखोलाबाट ४० मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको छ । उक्त जलविद्युत परियोजना सञ्चालनको लागि ह्याप्पी ईनर्जी प्रालिले प्रकृया सुरु गरिसकेको छ ।

ह्याप्पी ईनर्जीले परियोजना सञ्चालन गर्नु पुर्वको वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धी सिलिचोङ २ बालाको दांखिलामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वातावरणीय प्रभाव मुल्याङ्कनका लागि कम्पनीले नेपाल ईन्भाईरोमेन्ट एण्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रा.लि.लाई परामर्शदाताको रुपमा छनौट गरेको छ । उक्त परामर्शदाताले तयार गरेको प्रतिवेदन माथी प्रभावित नागरिकहरुको माझ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

उक्त आयोजनाको पावर हाउस सिकिदिम भन्दा माथी संखुवा खोला र सोङ्लाहा खोलाको दोभानमा निर्माण हुनेछ भने पावर हाउस खुङ्वा गाउँ मुनी बन्नेछ । यस आयोजनाको लाग ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उत्पादक कम्पनीका अध्यक्ष ईन्द्र विष्ट लगायतका लगानीकर्ताहरुको उपस्थिती रहेको थियो । परामर्शदाता कम्पनीका वातावरणीय प्रभाव मुल्याङ्कन विशेषज्ञ शिवहरी मरहट्ठाले प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ, वडा नम्बर २ का अध्यक्ष मोहन संशेर कुलुङ, वडा नम्बर ३ का अध्यक्ष प्रताप तामाङ, कार्यपालिका सदस्य नरभुपाल मेवाहाङ र प्रभावित नागरिकहरुको उपस्थिती रहेको थियो । उक्त परियोजनाबाट सिलिचोङ २ बालाको बेतेनी, दांखिला र ताम्कुको सिकिदिम र खुङ्वाका नागरिकहरु प्रत्यक्ष प्रभावित बन्नेछन् । कार्यक्रममा उपस्थित जनप्रतिनिधी र स्थानीयले प्रभावितहरुलाई रोगजारी, शेयर लगायतमा पहिलो प्राथमिकता दिनु पर्ने माग राखेका छन् ।

सम्बन्धित समाचार