सङ्खुवासभाका राजनितिक दलहरुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पठाए ज्ञापन पत्र



प्रजिअ खड्कालाई ज्ञापनपत्र बुझाउँदै दलका प्रतिनिधीहरु । तस्विरः ध्यान कुलुङ

खाँदबारी। सङ्खुवासभाका राजनितिक दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । मंगलबार सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने भनेर तयार गरेको ज्ञापन पत्र बुधबार प्रजिअ मार्फत पठाएका हुन् ।

जिल्लामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ गर्न सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन तयारी गरेका थिए । तर पुर्वनिर्धारित तालिका बमोजिम कार्यक्रम सञ्चालन नभएपछि बुझाउन पाएका थिएनन् । मकालु गाउँपालिका ५ स्थीत आम्राङमा सुरुङको ‘ब्रेकथ्रु’ गरेपछि विद्युतगृह निर्माण स्थल पुखुवामा औपचारीक कायर्यक्रमको तयारी गरिएको थियो । तर आम्राङमा ‘ब्रेकथ्रु’पछि पुखुवा आउने क्रममा हेलिकप्टर अवतरण गर्न नसकेपछि त्यहाँ कार्यक्रम हुन पाएन । उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई बुझाउन तयारी गरेको ज्ञापन पत्र प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पठाईएको हो ।

ज्ञापन पत्रमा जिल्लाका समसामयिक ८ वटा समस्याहरुको समाधान गर्न ध्यानाकर्षण गरिएको छ । अरुण तेश्रो प्रवेश मार्गको छुट मुआब्जा तत्काल वितरण गर्नु पर्ने, किमाथाङ्का नाका खुलेको तथा सडक सञ्जाल समेत जोडिन लागेकोले किमाथाङ्कामा बिओपी, चिनसँग सिमाना छिटिने कामु खोलामा पक्कि पुल निर्माण, सुख्खा बन्दरगाह र क्वारेन्टाईन लगायतको पुर्वाधार निर्माण गर्न माग गरिएको छ । त्यस्तै, योगमाया आयुर्वेद विश्वविद्यालयको ऐन बमोजिम प्रथम बैठकको आयोजना, पुर्वाधार निर्माण र थप जग्गाको ब्यवस्थापन लगायतका अत्यावश्यक कार्यहरु तत्काल गराउन ज्ञापन पत्रबाट माग गरिएको छ ।

चतरा–लेगुवास सडकको लागि आवश्यक बजेट ब्यवस्था, अरुण करिडोर सडक आयोजनाको कार्यालय स्थापना गरि निर्माण कार्यलाई तिब्रता दिनु पर्ने माग राखेका छन् । त्यस्तै, अरुण नदिमा जल यातायात सञ्चालनको समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ । जिल्लाको धार्मिक तिर्थस्थलको रुपमा रहेको बरुण नदिमा जलविद्युत आयोजना लगायतका कुनै पनि ठुला आयोजना सञ्चालन गर्न नदिन समेत माग गरिएको छ ।

जिल्लाको राजनितिक दलको संय्ुक्त ज्ञापन पत्र बुझ्नुहुँदै बुधबार नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाईदिने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो । ‘पत्रलाई विद्युतीय प्रणाली मार्फत बुधबार नै कार्यालय समयमा पुग्ने गरि पठाईदिन्छौँ’, प्रजिअ खड्काले भन्नुभयो ।

ज्ञापनपत्रमा जिल्ला स्थीत नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार