‘मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५’ हुदै, बुधबार बस्याे तयारी बैठक



भाेजपुर । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सञ्चालनका लागि तयारी बैठक सम्पन्न भएकाे छ । भाेजपुरकाे टेम्के मैयुम गाउँपालिकाकाे चखेवा स्थित कम्फर्ट हाेलिडे इनमा बुधबार बैठक सम्पन्न भएकाे हाे ।

मुन्दुम ट्रेलसँग जोडिएका गाउँपालिकाहरूका अध्यक्ष, उपाध्यक्ष, वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा भ्रमण वर्ष तयारी बैठक सम्पन्न भएकाे हाे । टेम्केमैयुङ साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईकाे अध्यक्षता तथा टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतको प्रमुख अतिथिमा बैठक सम्पन्न भएको हाे ।
बैठकले साहित्य, संस्कृति र प्रकृतिलाई जाेड्ने विबिध महाेत्सवहरुकाे आयाेजना गर्ने निर्णय गरेकाे छ । भ्रमण वर्षमा लालीगुराँस महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन, सांस्कृतिक तथा साहित्यिक महोत्सव, हनिहन्टिङ, माउन्टेन साइक्लिङ, रुद्राक्ष महोत्सव, चाैरी महाेत्सव चाक्चाकुर महोत्सव लगायत विविध महोत्सवहरू आयाेजना गर्ने निर्णय गरेकाे छ ।

मुन्दुम ट्रेलको विस्तारित रूप “ग्रेटर मुन्दुम ट्रेल” खुवालुङदेखि चोमोलुङ्सम्म (सगरमाथा) सन् २०२५ भरि नै विविध कार्यक्रमहरू गरी लाखौं पर्यटक भित्र्याउने र मुन्दुम ट्रेललाई विश्वव्यापी रुपमा स्थापित गराउने लक्ष्यका साथ आजको बैठक सम्पन्न भएको हाे ।

भ्रमण बर्षकाे उद्घाटन टेम्के मैयुम वा साकेला गाउँपालिका मध्ये एकले गर्नेछ भने समापन महाकुलुङ गाउँपालिकाले गर्नेछ ।

तयारी बैठकमा टेम्के मैयुम गाउँपालिकाका अध्यक्ष सराेज बस्नेत, साकेला गाउँपालिका उपाध्यक्ष बिर्शिखा राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, साल्पासिलिछाे गाउँपालिका अध्यक्ष दाैलथ कुलुङ लगायतकाे जनप्रतिनिधिहरुकाे नेतृत्वकाे टाेली सहभागिता रहेकाे थियाे ।

भ्रमण बर्षमा एक लाख भन्दा बढि पर्यटकहरु भित्र्याउने लक्ष्य रहेकाे बताईएकाे छ ।

सम्बन्धित समाचार