खाँदबारी । सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको सहयोगमा चिचिला गाउँपालिकाका १२ विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको छ । गाउँपालिकाका असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई जनहि पाँच हजार रुपैयाँको दरले छात्रबृत्ति वितरण गरिएको हो ।
मंगलबार गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई छात्रबृत्ति रकम हस्तान्तरण गरिएको हो । सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष गणेश कुमार घिमिरे र निवर्तमान अध्यक्ष रेखबहादुर गुरुङको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । छात्रबृत्ति रकम गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, उपाध्यक्ष मनकला राई, सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ समेतको पालिकाको टोलीले रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्नुहुदै सङ्खुवासभा सम्पर्क परिवारका संस्थापक अध्यक्ष घिमिरेले कोरियामा कार्यकरत सङ्खुवासभालीहरुले मेहेनतको कमाईबाट संकलन गरेर जम्मा गरेको कोषको ब्याजबाट हरेक बर्ष छात्रबृत्ति वितरण गर्दै आएको जानकारी दिनुभयो । यस बर्ष सङ्खुवासभाका पाँच वटा गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको र अर्को बर्ष बाँकी ५ वटा नगरपालिकाका विद्यार्थीहरुलाई वितरण गर्ने जानकारी दिनुभयो । जेहेन्दार भएर पनि साहारा विहिन तथा गरिव विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस भनेर छात्रबृत्ति कोष स्थापना गरिएको उहाँले स्मरण गर्नुभयो । दक्षिण कोरियामा कार्यरत जिल्लावासीहरुले विभिन्न विपदको समयमा समेत सहयोग जुटाउदै आएको घिमिरेले स्पष्ट पानुभयो ।
छात्रबृत्ति वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष मनकला राईले आगामी दिनमा समेत सम्पर्क परिवार दक्षिण कोरियासँग सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । यस पटक उपलब्ध गराईएको रकमले वालबालिकाहरुलाई ठुलो राहत पुगेको समेत उहाँले बताउनुभयो ।
सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले विगतमा पनि गाउँपालिकावासीलाई ठुलो सहयोग पुर्याएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले स्मरण गर्नुभयो । केहि बर्ष अघि चिचिला ४ का अनिस खालिङको जीवन रक्षाका लागि ब्लड मनिका लागि लाखौँ रुपैयाँ संकलन गरि पठाएको अध्यक्ष शेर्पाले स्मरण गर्नु भयो ।
त्यस्तै, पालिकाको अनुरोधमा हालै मात्र पनि चिचिला ४ का क्यानसर रोगबाट पिडित पवन कुमारी गुरुङको उपचारको लागि सहयोग रकम उपलब्ध गराएको बताउनुभयो । यस बाहेक पनि पालिकाको विपदको समयमा दक्षिण कोरिया परिवारले निरन्तर सहयोग दिदै आएको अध्यक्ष शेर्पाले बताउनुभयो । परदेशी भुमिमा गरेको मेहेनतको कमाईबाट मानव सेवाका लागि सहयोग जुटाउने दक्षिण कोरिया समाज परिवार लगायत सम्पूर्ण सहयोगीहरुलाई अध्यक्ष शेर्पाले धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिक्रिया