‘मनकामना मेला’ सय बर्ष पुरा, यस बर्षको मेला विशेष हुने



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरूण किनारामा अवस्थित मनकामना धाममा लाग्दै आएको मेला यस बर्ष सय बर्ष पुगेको छ । यस अवसरमा यस बर्षको मेलालाई विशेष बनाउने तयारी गरिएको छ ।

तुम्लिङटार स्थित तुम्लिङटार स्पोर्टिङ क्लवको आयोजनामा यस बर्ष ‘शतबार्षिकी एकादशी मेला, खेमराज स्मृति साँझ’ कार्यक्रम हुन लागेकाे हाे । हरेक बर्षको हरिबोधनी एकादशीको अघिल्लो साँझ लाग्ने मेलामा यस बर्ष साँगितिक कार्यक्रमका साथमा भजन–कीर्तन, दीप प्रज्वलन, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शनी र सामुदायिक भेटघाट कार्यक्रमहरू सञ्चालन गरिने क्लवका अध्यक्ष देबेन्द्र घिमिरेले जानकारी दिनुभयो । स्थानीय पर्यटन प्रवर्द्धन, सामाजिक एकता सुदृढीकरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ यस बर्षको मेला विशेष बनाईने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

मनकामना धाममा १९८२ बाट मेला लगाउन सुरु गरिएको थियो । ‘गौरवपूर्ण १ सय औँ वर्ष पुरा गरेको अवसरमा यस मेलालाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक एकताको अद्वितीय संगमका रूपमा मनाउने तयारी गरिएको छ’, क्लबका अध्यक्ष घिमिरेले भन्नुभयो । मेलामा उमंग लामा, कमलीकान्त भेटुवाल, रचना रिमाल, सुनिता थेगीम, सुरेन्द्र पुलामी, बिराट तामाङ, लगायत दर्जन गायक गायिकाहरुले प्रस्तुती दिनेछन् ।

मेला अवधिभर सुरक्षाका लागि प्रहरी सहयोग, यातायात र आवास व्यवस्थाको विशेष व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष विजय कालधनले जानकारी दिनुभयो । मेलामा आगन्तुक भक्तजन र धार्मिक प्रतिनिधिहरूलाई सहज सहभागिताको वातावरण सिर्जना गरिने उहाँले बताउनुभयो ।

मेलाबाट संकलित सहयोग तथा आम्दानी रकम सामुदायिक हितका योजनामा खर्च गरिने क्लबले जनाएको छ। धार्मिक आस्था, इतिहास र एकताको प्रतीकका रूपमा रहेको मनकामना धामको शताबार्षिकी मेलाले यस क्षेत्रको धार्मिक पर्यटनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार