गुराँस हाईड्रो पावर कम्पनी विरुद्ध स्थानीयको आन्दोलन, बन्द गरे सडक



खाँदबारी । संखुवासभाको संखुवाखोलाबाट जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेका गुराँस हाईड्रो पावर कम्पनी विरुद्ध स्थानीयले आन्दोलन सुरु गरेका छन् । लामो समयदेखि विभिन्न माग राख्दै आएका स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयले सिलिचोङको बुधबारेदेखि भोजपुरको बुम्लिङ सडक खण्डमा जलविद्युत आयोजनाको सवारी आवागमन बन्द गरेका हुन् ।

निर्माण कार्य धमाधम भईरहदा पनि स्थानीयलाई रोजगारी नदिईएको, करिव दशक अघि गरिएको वातावरणीय प्रभाव मुल्याङ्कनको पुनरावलोकन गर्नु पर्ने, आयोजना नजिकै स्थानीयलाई नगदेबाली तथा जग्गा जमिनको मुआब्जा दिनु पर्ने लगायतको माग राख्दै यस अघिबाट नै आन्दोलन गर्दै आएका थिए । स्थानीयको माग सुनुवाई नभएपछि आयोजनाको सवारी साधनहरु ठप्प पारिएको आन्दोलनकारी स्थानीयले बताएका छन् । स्थानीयको माग पुरा नभएसम्मका लागि आयाेजनाकाे सवारी साधनहरु चल्न नदिईने बताईएको छ ।

स्थानीय आन्दोलित भईरहेको विषयमा आयोजनाका अध्यक्ष शिब घिमिरेसँग पटक पटक सम्पर्क गर्दा सम्पर्क स्थापित हुन सकेको छैन । फोन सम्पर्क गर्दा फोन नउठाउने तथा उठाईएको अवस्थामा पनि आफु ब्यस्त रहेको र पछि कुरा गर्ने बताउदै आएका छन् । सडक अवरुद्ध तथा स्थानीयको माग बारे कुरा गर्न सम्पर्क गर्दा फोन अफ रहेको र आयोजनाका ब्यवस्थापक दिवस राईसँग कुरा गर्न खोज्दा राईले फोन उठाएनन् ।

गुराँस हाईड्राे पावर कम्पनीले संखुवाखाेलाबाट ४१ दशमलव ०६ मेगावाट क्षमताकाे विद्यूत उत्पादन गर्न लागेकाे छ । हाल उक्त आयाेजनाकाे टनेल खन्ने लगायतका निर्माण कार्य धमाधम गरिरहेकाे छ ।

सम्बन्धित समाचार