धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा लिन सकिने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो ।
गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ । ग्रामीण भेगमा एलपी ग्यास भन्दा प्रभावकारी गोबर ग्यास भएको धनकुटाका लाखमान तामाङले बताए ।
‘ग्रामीण भेगमा भनेको बेला एलपी ग्यास सहज तरिकाले पाउन मुस्किल छ’, उनले भने, ‘गोबर ग्यासले कम आयस्रोत भएका व्यक्तिका लागि पैसा समेत बचत हुन्छ ।’
खाना पकाउन छिटो, छरितो र धुँवा नहुँदा स्वास्थ्यमा पनि असर कम हुने उनले बताए । दिनमा ५ देखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा तीन पटकसम्म खाना, खाजा बनाउन सकिने उनको अनुभव छ । यस्तै ग्यास प्रयोगपछि निस्केको मल खेतीबालीलाई बढी उपयुक्त मानिन्छ ।
धनकुटा नगरपालिकाका एक सय घरमा गोबर ग्यास जडान भइसकेको छ । नगरपालिकाले ५ हजार घरमा गोबर ग्यास जडान गर्ने लक्ष्य लिएको छ । गोबर ग्यास जडान गर्न नगरपालिकाले ४० हजार अनुदान प्रदान गर्दै आएको छ । १६ हजार कृषक र बाँकी रकम सप्लायर्स कम्पनीले लगानी गर्दै आएका नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताए ।
गोबर ग्यास प्रयोग गर्न थालेपछी जंगलबाट दाउरा ल्याउनुपर्ने समस्या कम भएको छ यस्तै एलपी ग्यास प्रयोग गर्दा हुने दुर्घटनाको जोखिम पनि न्यूनिकरण हुनका साथै पैसाको समेत बचत हुनेगरेको छ ।
संगालोखबरबाट साभार


प्रतिक्रिया