निबन्ध: आदिम सन्दर्भ



प्रिय संवेदन !

‘जीवन’ नामको घटनामा आज मेरो आदिवासी मनको आज्ञानुसार एक रोमाञ्चकारी कथा वाचन गरिरहेछु(

एकादेशमा तिमी थियौ, म थिएँ र हाम्रो आदिवासी मन थियो, सप्रसङ्ग(अप्रसङ्ग हाम्रा आदिम प्यासहरू थिए, आदिम सम्बन्धहरू थिए, आदिम स्वप्नहरू थिए र आदिम आँसु थिए ।

शिरीषका प्रेमिल फूल झैं निलाम्मे प्रीत फुले जस्तो त्यस शालीन प्रदेशमा वासन्ती सौन्दर्य ढकमक्क फुल्थे । शुभसन्देश जस्ता पाहुनाहरू सकुशल आउने(जाने गर्थे । साप्ताहिक हाटबजारमा प्रेम, सद्भाव र समर्पणका कवितावाचन गरिन्थे ।

धर्म, दर्शन, इतिहास, राजनीति, अर्थनीति, शिक्षानीति, कूटनीति, संविधान, कानुन सारा केवल महत्त्वाकांक्षी बादशाहका दुःस्वप्न झैं बडो हास्यास्पद लाग्थे । आदिम नीला दहहरूमा प्रेमको सम्भ्रान्त पहेली झैं गन्धर्वहरू मस्त पौडिन्थे । गुफा र ओढारहरूमा आँखाभरि जूनतारा भित्रयाएर प्रकृति र पुरुष सम्भोग गर्थे, सङ्गीतबद्ध हुन्थे र जन्माउँथे अहङ्कारहीन भविष्य

त्यस देशमा रुसोले गाई चराएका प्रमाणहरू थिए हामीसित । कृष्णले बजाएको बाँसुरीको धुन त्यहाँका पहाड, चरा, पुतली, झरना र नदीहरूलाई कण्ठस्थ थियो । कहिलेकाहीँ बाटो भुलेरै पनि कोलम्बसको आत्माले प्रवेश गरेको तथ्य समेत हामीसित थियो । फ्रायड मनोविश्लेषण गर्नुभन्दा आत्मविश्लेषण गर्दै आमा, दिदी, बहिनी र पत्नीलाई समेत ससम्मान प्रेम गर्थे र बाबु, दाजु, भाइ सारालाई आलिङ्गन गर्थे ।

मोमिला !
कार्ल मार्क्स कहिले बारीमा डल्ला फोरिरहेका हुन्थे त कहिले मजदुरको थोत्रो झोला बोकेर जङ्गलतिर पस्थे र झोलाभरि जङ्गली फल र फूलहरू बोकी गोधूलि साँझमा घर फर्कन्थे । त्यस देशमा नित्से ईश्वरमृत्युको दुस्खद समाचार लिएर आउँदैनथे, बरु उनी साहिँलीलाई ‘प्रेम गर्छु’ को सुखद समाचार भन्न चौतारीमा पर्खी बस्थे ।

बुद्ध दङ्गदास भएर काखमा आफ्नो ईश्वर जस्ता अबोध नानी खेलाइरहेका हुन्थे । क्राइस्ट, बुद्ध, कृष्ण र मोहम्मदहरू बाइबल, त्रिपिटक, गीता, कुरान एकै ठाउँ राखेर शुभकामना आदानप्रदान गरिरहेका हुन्थे । आतङ्कवादीहरू बमबारुद नभएर फूल लिई हिँड्थे र प्रिय र प्रियाहरूको निजी स्वप्नमा कोमल आतङ्क फैलाउँथे ।

सुकरात बाख्रा चराएर फर्कन्थे र साँझपख छिमेकीहरूसित अँगेनाको वरिपरि बसेर तारादेवी, नारायणगोपाल, अरुण र अरूणाहरू मोजार्टले सङ्गीत भरेको लोकगीत सुनाउँथे । बाङ्देलहरू आफ्नै भित्ता र आँगनहरूमा इन्द्रेणीरङ भर्थे । वेदना र आँसु क्षितिज पर(पर घुम्न जान्थे र सपनाहरू बोकी आउँथे ।

सार्त्र र सिमोन छुट्टी मनाउन कहिलेकाहीँ त्यहाँ झुल्किन्थे । निर्मल वर्मा, अमृता प्रीतम आ(आफ्नो एकान्त झ्यालमा बसेर सधैं(सधैं सूर्योदय र सुन्दर सूर्यास्त हेर्थे । हामीसित उपलक्ष्यहीन उत्सवहरू थिए । देश ऐश्वर्यशाली थियो र हाम्रो हृदयमा प्रीतिकर ईश्वरको जन्मजात ठेगाना थियो । सभ्यता हाम्रै आदिवासी मनजस्तो जीवन्त थियो । पारिजात, देवकोटा र शङ्करहरू हामीलाई यही कथा भनिरहेका हुन्थे ।
यतिखेर भर्खर हामी स्वप्नसिँढीबाट धरातलमा ओर्लेका छौं । हाम्रो आदिवासी मन, प्यास, सम्बन्ध, आासु र स्वयम् सुखद स्वप्नहरू शिरीषको फूल बारुदले भुइँभरि असरल्ल झरे झैं काँचका टुक्रासरी अराजक छरिएका छन् । यात्रा रगताम्य छ ।

प्रिय संवेदन !

यतिखेर घाइते म निकै थाकेको छु । अब सम्हाल्ने जिम्मा तिमीलाई नै लगाएर तिमीबाट सुमधुर बिदा चाहन्छु र प्रकृतिको उही आदिम देशतिर फर्कन चाहन्छु ।

सम्बन्धित समाचार