उखुबाट दिक्क बनेका किसान केरा खेतीतर्फ आकर्षित




२७ चैत, नवलपरासी । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् ।

उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती गर्दै आएको आफू दुई वर्षयता केरा खेती गर्दै आएको र जसबाट आफू मनग्य आम्दानी गर्न सफल भएको पक्लिहवाका किसान आशमाया गुरुङको भनाइ छ ।

उखुको तुलनामा केरा खेती गर्न दोब्बर फाइदा हुने भएकाले आफू पनि उखु खेती छाडी केरा खेतीतर्फ लागेको कडियाका किसान मदनकुमार कुसुहवाको भनाइ छ । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिँदा पनि वर्षौंसम्म भुक्तानी पाउन नसक्ने, समयमा रकम भुक्तानी पाउन नसक्नेजस्ता समस्याबाट ग्रसित किसान उखुको वैकल्पिकरुपमा अन्य कृषि खेतीतर्फ आकर्षित बनेका छन् ।

उखुभन्दा केरा खेतीबाट मनग्य आम्दानी लिन थालेपछि यहाँका किसान सन्तुष्ट बनेको कुडियाका किसान हरिप्रसाद सुवेदीको भनाइ छ । यसरी किसान पछिल्लो समयमा उखु खेतीलाई विस्थापित गरी केरा खेतीलाई आफ्नो मुख्य बाली बनाउन थालेपछि नवलपरासीको ग्रामीण क्षेत्रमा कृषि सङ्कलन केन्द्र समेत स्थापना गरिएको छ ।

सो सङ्कलन केन्द्रको स्थापनाबाट अब क्षेत्रमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बाहिर बजारमा लान निकै सजिलो भएकाले ग्रामीण क्षेत्रका किसान थप उत्साही भएको केरा उत्पादक सङ्घका सचिव लख्खु यादवको भनाइ छन् ।

यस क्षेत्रबाट वार्षिकरुपमा करिब चार करोड बराबरको केरा नारायणगढ, बुटवल, काठमाडौं लगायतका बजारमा निर्यात हुने गर्दछ । यसरी उखु खेती छाडी वैकल्पिकरुपमा केरा तथा तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

किसानलाई बीउबिजनसहित आर्थिक सहयोग गर्दै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।

नवलपरासीमा कुल सात सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जिल्लामा वार्षिक आठ हजार आठ सय २० मेट्रिक टन केरा उत्पादन हुँदै आएको जनाएको छ ।

रासस

सम्बन्धित समाचार