जिल्ला अस्पतालको स्तरबृद्धिको निर्णयले खुसियाली



सङ्खुवासभा, बैशाख २७ गते । सङ्खुवासभा जिल्ला अस्पतालमा स्तरबृद्धि गरि पचास शैयाको मन्त्री परिषदले निर्णय गरेपछि सोमबार साँझ अस्पताल परिषरमा दिपावली गरिएको छ । बर्षौदेखि पचास शैयाको माग राख्दै आएका स्थानीय र अस्पतालको माग पुराहुने भएपछि दिपावली गरिएको हो । यो खबर गोरखापत्र दैनिकबाट लिएका हौँ ।

जिल्ला अस्पतालमा हालसम्म १५ शैयाको मात्र सुविधा थियो । बेडको अभाव भएपछि अस्पतालले आधा भन्दाबढी बिरामी भुई र बेञ्चमा राखेर उपचार गर्दै आएको थियो । भोजपुरको उत्तरी क्षेत्रर र सङ्खुवासभाका बिरामीहरुको घुईँचो लाग्ने जिल्ला अस्पताल खाँदबारीमा बेड अभाव र विरामीको अनुपातमा डाक्टरको संख्या कम रहेपछि राम्रो उपचार नपाएको गुनासो बढेको थियो ।

मन्त्रीपरिषदले पारित गरेको निर्णय अब तत्काल लागु गर्न सके जिल्ला अस्पताल खाँदबारीबाट बिरामीले राम्रो सेवा पाउने जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख डाक्टर बिनितकुमार झाले बताउनुभयो । ‘गर्मी बढेसँगै बिरामीको चाप बढ्दै जाँदा स्वास्थ्य सेवा दिन गाह्रो थियो, डाक्टर झाले भन्नुभयो, ‘अब चाँडै पचास बेडमा सेवा दिन पाए सहज तरिकाले सेवा दिन सकिन्थ्यो ।’ मन्त्रीपरिषदको निर्णय कार्यन्वयन गर्नको लागि भौतिक संरचनादेखि अन्य थुप्रै कार्यहरु सम्पन्न गर्नु पर्ने भएकोले स्थानीय नागरिकहरु पनि यसमा तदारुकताका साथ लाग्नु पर्ने जिल्ला अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष गोपाल घिमिरेले बताउनुभयो । ‘कार्यन्वयनमा मन्त्रालयको भुमिका त छदैछ, त्यस बाहेक स्थानीयको पनि उत्तिकै भुमिका रहन्छ’ उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालले पचास बेडको स्वीकृती पाएसँगै कार्यन्वय प्रकृया पनि अघि बढिसेको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बताउनुभयो । थप भएको बेड सञ्चालनको लागि भौतिक संरचाना निर्माण, उपकरणहरु थप्नुपर्ने, जनशक्ति ब्यावस्थापन लगायतका कामका प्रकृयाहरु अघि बढाईसकेको उहाँले जानकारी दिनुभयो । हाल अस्पताल रहेकै क्षेत्रमा भौतिक संरचना निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्न प्रकृया अघि बढाईसकिएको राज्यमन्त्री गुरुङले जानकारी दिनुभयो । ‘हालै एक करोड बराबरको उपकरण उपलब्ध गराईसकेको छ, अब केहि समयमा नै पाँच करोड मुल्य बराबरको उपकरणहरु अस्पतालमा पठाउन लागेका छौँ, राज्यमन्त्री गुरुङले भन्नुभयो ।

जिल्ला अस्पतालसँगै वाना स्वास्थ्य चौकी र नुम स्वास्थ्य चौकीको पनि स्तर बृद्धि गरिएको स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जानकारी दिनुभयो । दुवै स्वास्थ्य चौकीलाई स्तरबृद्धि गरि पन्ध्र बेड सहितको प्राथमिक स्वास्थ्य केन्द्र बनाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघिसम्म अहेवले दिदै गरेको स्वास्थ्य सेवा अव डाक्टरले दिनेछन् । त्यस्तै, ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको लागि पनि पन्ध्र बेडको स्वीकृतीका लागि प्रकृया अघि बढाईसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार