रुकुमको बाँफिकोटको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा माओवादी विजयी



जेष्ठ ३, २०७४( बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादीका धर्मबहादुर केसीले अध्यक्ष जितेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठालाई ७ सय ५१ मतको अन्तर पारी केसी विजयी बनेका हुन् । केसीले ३ हजार ५ सय ६४ मत ल्याएका छन् भने वाँठाको पक्षमा २ हजार ८ सय १३ मत आएको छ ।

बाँफिकोट गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार मनकला पुनले जितेकी छिन् । कांग्रेस एमालेको सयुंक्त प्यानलकी व्युझना पुन देवकोटालाई १ हजार ४ सय ७७ मतको फराकिलो अन्तरले पछि पारी पुन विजयी बनेकी हुन् । पुनको पक्षमा ३ हजार ५ सय ७९ मत आएको छ भने देवकोटाले २ हजार १ सय २ मत मात्र ल्याएकी छिन् ।

बाँफिकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित केही वडामा कांग्रेस एमालेले सयुंक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । गाउँपालिका अध्यक्षमा कांग्रेसलाई एमालेले सहयोग गरेको थियो भने उपाध्यक्षमा एमालेलाई कांग्रेसले सहयोग गरेको थियो । माओवादी केन्द्रले बाँफिकोट गाउँपालिकाका १० वटै वडामा जितेको छ । १ नम्वर वडामा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको सयुंक्त प्यानलसँग माओवादी एक्लै लडेको थियो भने २ नम्बर वडामा कांग्रेस र नयाँ शक्तिको सयुंक्त प्यानलसँग माओवादीको एकल प्यानल निर्वाचनमा आएको थियो । ३ नम्बर वडामा कांग्रेस र एमालेको सयुंक्त प्यानलले निर्वाचनमा भाग लिँदा माओवादीको एकल प्यानल निर्वाचनमा थियो । ४ नम्बर वडामा एक्लै चुनावमा भाग लिएको माओवादीविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नयाँ शक्ति पार्टीको सयुंक्त प्यानल खडा गरिएको थियो । ५ नम्बर वडामा कांग्रेस र नेकपा एमालेको सयुंक्त प्यानललाई माओवादी केन्द्रको एकल प्यानलले पराजित गरेको थियो ।

रुकुमको ६ नम्वर प्रदेशका ६ स्थानीय तहमा भएको निर्वाचनमा यो सहित माओवादी केन्द्रले ३ तहमा जित हात पारेको छ । मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिका यसअघि नै जितेको माओवादीले आठविसकोट, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता कायमै राखेको छ ।

बाँफिकोट गाउँपालिका रुकुममा अध्यक्ष, उपाध्यक्ष जितेका धर्मबहादुर केसी र मनकला पुन ।

सम्बन्धित समाचार