मलेसियासँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित



१० जेठ, काठमाडौं । मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ४-१ को पराजय ब्यहोरेको छ । यसअघि सोमबार भएको पहिलो खेल ११ को बराबरीमा सकिएको थियो ।

कोता किनाबालुस्थित ययुएमएस रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको चुनौतिको सामना गर्न नसक्दा निरिह बन्न पुग्यो ।

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल खाएको हो । खेलको अन्त्यतिर स्ट्राइकर सजना रानाले नेपालका लागि सान्त्वना गोल गरेकी थिइन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक कुमार थापाले खेलाडीहरु शारीरिक रुपमा कमजोर देखिएको भन्दै हारको कारणबारे प्रष्ट पारे ।

खेल सुरु भएको तेस्रो मिनेटमै शेरेलिन इली पियुसले घरेलु टोलीलाई अग्रता दिलाइन् । सुरुमै गोल खाएपछि रक्षात्मक बन्न बाध्य भएको नेपालले मलेसियाली स्ट्राइकरहरुको लय रोक्न सकेन । ४३औं मिनेटमा नुर मथिरा ममतले मलेसियाको अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको आठौं मिनेटमा मलेसियाले तेस्रो गोल गर्‍यो । यसपटक पियुसले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् ।

खेलको ८२औं मिनेटमा स्ट्राइकर सजना रानाले नेपालका लागि सान्त्वना गोल फर्काएपनि खेलको अन्तिम मिनेटमा पुटेरी विल्किन्सले मलेसियाललाई चार एक गोलको जित सुनिश्चित गराइन् ।

साउथ इस्ट एशियन गेमको तयारीमा रहेको मलेसियाले नेपालसँग मैत्रीपूर्ण फुटबलको प्रस्ताव गरेपछि नेपाल दुई मैत्रीपूर्ण फुटबलका लागि मलेसिया पुगेको हो ।

सम्बन्धित समाचार