एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट



सप्तरी । जिल्लाको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरवा गाउँकी एक महिलामाथि कथित बोक्सीको आरोपमा कुटपिट भएको छ। इनरवास्थित मुसहर टोलका बच्चेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामवतीदेवी मण्डललाई छोरा र बस्तुभाउलाई बोक्सी मन्त्र प्रयोग गरी बिरामी बनाएको भन्दै शुक्रबार आफन्तले कुटपिट गरेका हुन्।

कुटपिटमा घाइते भएकी पीडित मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। पीडित महिलाका अनुसार आफन्त मोतीप्रसाद मण्डल, वीणादेवी र अलका मण्डल लगायतकाले छोरा र गाईभैंसीलाई बोक्सी मन्त्र प्रयोग गरी घाइते बनाएको भन्दै निर्घात कुटेका हुन्। पीडित मण्डलले करिब दुई महिनाअघि पनि कथित बोक्सीको आरोप लगाउँदै आफूसहित पतिलाई पनि कुटपिट गरेको गुनासो गरिन्।

‘घटनापछि हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय उजुरी दिएपछि स्थानीय जनप्रतिनिधि समेतको उपस्थितिमा छलफल हुँदा आइन्दा त्यस्तो घटना नगर्ने शर्तमा मिलापत्र भएको थियो’ उनले भनिन् ‘त्यतिबेलै कारबाही भएको भए फेरि ममाथि कुटपिट हुँदैनथ्यो।’ यता, इलाका प्रहरी कार्यालय हनुमाननगरले भने पछिल्लो कुटपिटको घटनाको विषयमा जानकारी नरहेको जनाएको छ।

सम्बन्धित समाचार