सलमानले लिइसकेका छन् पाँच करोड, के हुन्छ त्यो पैसा ?



१९ फागुन, काठमाडौं । विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको बुझिएको छ ।

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन ।

त्यसैले यदि ओडीसी इन्टरनेसनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ ।

ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङ भन्छन्, ‘अहिलेको स्थितिलाई मध्येनजर गरेर कार्यक्रम स्थगित गरिएको हो, तर हामी चाँडै नयाँ मिति तय गर्छौं । हामी शान्तिपूर्ण माहोलमा कार्यक्रम गर्न चाहन्छौं ।’
यस विषयमा सलमान खानले आजै बेलुकी विज्ञप्ति जारी गर्न सक्ने उनले बताए ।

देशमा एउटा विदेशी सेलिब्रिटी आएर प्रस्तुति दिने कुरालाई नकारात्मक रुपमा नलिइदिन गुरुङले आग्रह गरे ।

‘हाम्रो देशका कलाकारहरु पनि विभिन्न देशमा गएर प्रस्तुति दिनुहुन्छ, त्यसैगरी विदेशबाट पनि कलाकारहरु यहाँ आउनुलाई अन्यथा लिन मिल्दैन,’ उनले भने ।

२६ गते हुने भनिएको शोका लागि अहिलेसम्म करिब ५ हजार टिकट बिक्री भइसकेका छन् । निकट भविष्यमै शो आयोजना हुने र यही टिकटबाट हेर्न सकिने गुरुङ बताउँछन् ।

तर कुनै कारणबस पछि कार्यक्रममा उपस्थित हुन सक्दैनौं भन्नेहरुले पैसा फिर्ता लैजान सक्ने पनि उनको भनाइ छ ।

बल प्रयोगको योजना थिएनः महासंघ

यसैबीच विप्लव माओवादी निकट अखिल नेपाल सांस्कृतिक महासंघले सलमानको शो स्थगित भएकोमा खुशी व्यक्त गरेको छ । महासंघका महासचिव खेम थपलियाले शो स्थगित हुनु ‘आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको जित’ भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हामी यो शो रोक्नका लागि निर्णायक दबाव दिने तयारीमा थियौं, तर बेलैमा आयोजकले बुद्धि पुर्‍याए ।’ उनले भविष्यमा पनि शो आयोजना गर्न नदिने बताए ।

कार्यक्रम आयोजना भएको भए के तपाईंहरु हिंसात्मक कार्य गरेर रोक्नुहुन्थ्यो भन्ने प्रश्नमा थपलियाले त्यस्तो योजना भने नरहेको बताए ।

‘हामी शान्तिपूर्णरुपमै दबाव दिएर कार्यक्रम रोक्ने कुनै बल प्रयोग गर्ने योजना थिएन’ उनले भने ।

सम्बन्धित समाचार