सिलीचोङ गाउँपालिकाद्वारा ४८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक



ताम्कू । संखुवासभाको सिलीचोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित ४८ करोड ६९ लाख ९१ हजार ४१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

बुधबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। अध्यक्ष मेवाहाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि गाउँसभामा छलफल भइरहेको जनाइएको छ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष देविता कुलुङले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरेकी हुन्। सार्वजनिक बजेटअनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त, समपूरक र विशेष अनुदान गरी २३ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा अन्य आन्तरिक स्रोतबाट २५ करोड ४४ लाख ९१ हजार ४१ रुपैयाँ जुट्ने अनुमान गरिएको छ। यी स्रोतहरूबाट प्राप्त हुने रकमसमेत गरी गाउँपालिकाले कुल ४८ करोड ६९ लाख ९१ हजार ४१ रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष मेवाहाङले आफूहरू निर्वाचित भएदेखि नै “समृद्ध सिलीचोङ” निर्माण अभियानमा केन्द्रित रहेको बताउँदै संघ तथा प्रदेश सरकारसँगको समन्वयमा विभिन्न ठूला विकास आयोजना अघि बढिरहेको जानकारी दिए।

संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार संखुवासभाका सबै १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।

सम्बन्धित समाचार