कविताः म्यान पावर कम्पनी




– विश्वर सिंह राई, चिचिला २, सङ्खुवासभा

बागबजारको सागुरो गल्लीमा
मेरो एउटा म्यान पावर कम्पनी छ
आउनुहोस, तपाईं पनि एजेण्टको काम गर्नुहोस ।

तपाईं गाउँ गाउँ जानुहोस
तपाइँ शहर शहर पुग्नुहोस
तपाइँ गल्ली गाली चहार्नुहोस
तपाइँ टोल टोल छिर्नुहोस
ढाडमा टेकेर टाउकोमा हान्ने
नदि बेचेर भोट किन्ने
सपना बाडेर बिपना लुट्ने
झुपडी देखाएर महलमा लुक्ने
खोलो तरे पछि लौरो बिर्सने
शिखर चढे पछि फेदी नझर्ने
नेताहरु छानी छानी ल्याउनुहोस
म उनीहरुलाई
निशुल्क खाडी सप्लाई गरिदिन्छु ।।

तपाइँ अफिस अफिस जानुहोस
तपाईं अड्डा अड्डा छिर्नुहोस
तपाइँ हरेक टेबल पुग्नुहोस
तपाइँ प्रतेक कुर्सी चहार्नुहोस
लुगा सफा लागाउने, बिचार फोहोर ओकल्ने
टेबल माथिको नहेर्ने, टेबल मुनिको नछाड्ने
लोकसेवामा पास भएका, जनसेवामा फेल भएका
भुँडी ठूलो भएका, आत्मा सानो भएका
झर्कने, फर्कने
तर्कने, मर्कने
सुब्बा, खर्दार
हाकिम, चौकिदार
छानी छानी ल्याउनुहोस
म उनीहरुलाई
निशुल्क अरब सप्लाई गरिदिन्छु ।।

तपाइँ स्कुल स्कुल जानुहोस
तपाइँ कलेज कलेज पुग्नुहोस
तपाइँ हरेक विश्वविद्यालय छिर्नुहोस
तपाइँ प्रतेक इस्टिच्युट चियाउनुहोस
आफू शिक्षित भएर अरुलाई अशिक्षित बनाउने
आफू जागिर खाएर अरुलाई बेरोजगार बनाउने
सरस्वतीको मन्दिरमा लक्ष्मीको व्यापार गर्ने
पुस्तकको पानामा इन्द्रजाल बुन्ने
अध्ययन नगर्ने अध्यापक
ध्यान नगर्ने प्रध्यापक
बास्टर्ड जस्ता मास्टर
गोरु जस्ता गुरु
छानी छानी ल्याउनुहोस
म उनीहरुलाई
निशुल्क बिदेश सप्लाई गरिदिन्छु ।।

बागबजारको सागुरो गल्लीमा
मेरो एउटा म्यान पावर कम्पनी छ
आउनुहोस तपाईं पनि एजेन्टको काम गर्नुहोस
बागमती जस्तो यो देशलाई
साप्ताहिक रुपमा सफा गरौ ।।

 

सम्बन्धित समाचार