दोहोरो करका कारण रुद्राक्ष बजारलाई समस्या



संखुवासभा, कातिक २९ गते । संखुवासभा, रुद्राक्षको राजधानी भनेर चिनिने पहाडी जिल्ला भोजपुर र संखुवासभा जिल्लामा पछिल्लो समय रुद्राक्षमा लगाइएको दोहोरो करका कारण रुद्राक्ष खरिदबिक्रीमा कमी हुन थालेको छ ।

प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन, २०७५ ले रुद्राक्षको जिल्ला निकासी करमा वृद्धि गरेसँगै परिचय पत्र लिने तथा अन्य व्यापारीहरू निराश भएका छन् । रुद्राक्षमा लगाइएको दोहोरो करका कारण पछिल्लो समय कारोबार घट्न थालेको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय सचिव राजकुमार दंगालको भनाइ छ ।

उनका अनुसार रुद्राक्ष प्रत्येकको मुख गन्दै राजस्व लिदाँ व्यापारको सुरक्षा चुनौती बढ्ने हुँदा व्यवसायीमा निराशा छाएको हो । ’प्रत्येकको मुखका आधारमा राजस्व लिने हो भने खरिदबिक्री परिचयपत्रको औचित्य हुँदैन’, दंगालले भने । जिल्ला समन्वय समिति संखुवासभामार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र समेत पठाएको बताए । यता जिल्ला समन्वय समिति सभापति सुमन शाक्यले रुद्राक्षको निकासी करका बारेमा पुनर्विचार गर्न ध्यानकर्षण गरेको बताए ।

रुद्राक्षको आर्थिक ऐनमा ४ र ५ मुखे बाहेकका सबै रुद्राक्षमा प्रतिगोटाका दरले निकासी करले लिने व्यवस्था रहेको छ । जसअनुसार, रुद्राक्ष गौरीपाठ र त्रिपाठको प्रतिगोटा दुई हजार ५०० रुपैयाँ कर तोकिएको छ । जिल्ला निकासी बापत सबैभन्दा धेरै २६ र २७ मुखेको प्रतिगोटा ३५ हजार रुपैयाँ निकासी कर लिने प्रदेश सरकारको आर्थिक एनेमा उल्लेख गरिएको छ । त्यसैगरी २१ मुखेको प्रतिगोटा २५ हजार र २२ देखि २५ मुखेसम्म १९ हजार रुपैयाँ कर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार