कविताः आर्गनिक छोरो




मुलधुरीको सिधै मुनि
कटुसको पातले बेरिएको खामाङलाई
बाउले अदुवा र अक्षताले छर्केर तीन चोटि ढोके पछि
अगेनामा ठढिएको तीन चुलोको कालो मोसो
निधारमा टीका लगाएर
परदेश जाने साइत जुरेको बेला
फेसबुकमा आउने राशीफलले
आज अशुभ साइत भन्दैमा
केही फरक पर्दैन

मयुरको चित्र अंकित
पुरानो थोत्रो लुङ्गीमा
आमाले मलाई जन्माए पछि
तीन माघ सम्म तेसैमा बेरिएर हुर्कदै
ऐसेलुको जरा र चिराइतो खाएर
बलियो बनाएको मेरो घाटीमा
कहिले काहीँ चिसोले खोकी लागेको बेला
गर्लफ्रेण्डले टेक केयर डार्लिङ भन्दैमा
केही फरक पर्दैन

हिउदको तीन महिना गोठ बसेर
मलिलो पारेको सिमले बारीमा
लटरम्म फलेको नङकटे कोदोको ढिडो सग
सुके पातलमा पलाएको लेकाली सिस्नु
अघाउन्जेल खाएर हुर्केको यो ज्यानलाई
घुम्ने कुर्सीमा बस्ने डाक्टरले
आइरन चक्की लेखेर दिदैमा
केही फरक पर्दैन

बिहान भाले बासे पछि
गाईलाई पराल हालेर
कागुवा खोलामा थापेको जाल उठाउदै
घर फर्कने बेलामा
लहरे बोडीलाई एक जोडी हरियो थाक्रो
काधमा जुरुक्क बोकेर ओकालो हिड्ने छोरोलाई
शहरमा आएको रामदेवको योगले
केही फरक पर्दैन

पर्दैन, पर्दैन, फरक पर्दैन
आर्गनिक छोरोलाई
केही फरक पर्दैन

 

विश्वर सिंह राई
चिचिला – २ संखुवा सभा

सम्बन्धित समाचार