डेंगु नियन्त्रण गर्न सरकार असफल



काठमाण्डौ । हेटौंडा कमलडाँडाकी एन्जिला श्रेष्ठ दुई हप्तादेखि टेकु अस्पतालमा उपचार गराइरहनु भएको छ । डेंगुबाट संक्रमित श्रेष्ठ हेटौंडाका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि टेकु आइपुग्नु भएको हो । श्रेष्ठ मात्रै होइन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज धेरै बिरामी मकवानपुर हेटौंडाकै छन ।

‘कमलडाँडाभरी नै डेंगु फैलिएको छ । डेंगु लाग्ला, डेंगु लाग्ला भनेर सजग हुदाँहुँदै टोकेछ’ मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ कमलडाँडाकी श्रेष्ठले भन्नुभयो, ‘डेंगु लागेपछि निको हुन समय लाग्ने रहेछ ।’

श्रेष्ठका अनुसार कमलडाँडाका घरपिच्छे डेंगुका बिरामी छन । कपितय घरमा एकै परिवारका सात जनामा पनि डेंगु लागेको छ । डेंगुले गर्दा हेटौंडाका सबैजसो अस्पताल तथा मेडिकलमा बिरामीको चाप छ । बेड नपाएका बिरामी काठमाण्डौ आएका छन् भने कोही चितवनसम्म पुगेका छन् ।

‘हेटौंडामा डेंगुले सबैभन्दा बढी प्रभावित भएको हाम्रै ठाउँ हो’, उहाँले भन्नुभयो, ‘घरैपिच्छे डेंगुका बिरामी छन् । केही ठाउँमा एकै घरका सात जनासम्म बिरामी परेका छन् ।’

यस्तै दाङ तुल्सीपुरका बिनायक बस्नेत पनि उपचारका लागि टेकु आइपुग्नु भएको छ । ट्रकमा सहयोगीको काम गर्ने बस्नेतले दाङकै विभिन्न अस्पतालमा उपचार गराए पनि निको नभएपछि तीन दिनअघि टेकु आइपुग्नु भएको हो ।

‘जति औषधि खाए पनि सञ्चो नभएपछि आएको हुँ’, उहाँले भन्नुभयो, ‘यहाँ आएपछि निको हुँदै गएको छ । चाँडै घर फर्किने आश पलाएको छ ।’

सम्बन्धित समाचार